कथित बोक्सीको आरोपमा हत्या घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ १० गते

नौबस्ता गाविस-९ तिकमपुरकी ४० वर्षीया डण्डी थारुलाई कथित बोक्सीको आरोपमा हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय दिनेश थारुलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थीकाअनुसार घटनापछि फरार रहेका अरोपितलाई भदौ ९ गते राति कैलालीको अतरियाबाट गिरफ्तार गरिएको हो ।

इन्पेक्टर अवस्थीका अनुसार पीडित डण्डी थारुले दिनेशकी पत्नीलाई 'बोक्सी' लगाएको भन्दै भदौ ८ गते राति दिनेश थारुले चिरपटले कुटपिट गरेका थिए । घटनामा घाइते भएकी पीडितलाई उपचारका लागि कोहलपुर शिक्षण अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि भारतको लखनउ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

आरोपित दिनेशले कथित बोक्सी आरोपमा पीडितलाई पटक पटक कुटपिट गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर अवस्थीले बताए । शवको पोष्टमार्टम भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भदौ ९ गते भएको प्रहरीले जनायो ।


विनोद पाण्डे