कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट

  ०७६ मङ्सिर १५ गते

पुर्चौडी नगरपालिका–९ तल्लादेही नाइनीकी–४० वर्षीया उत्तरा ढुङ्गाललाई कथित बोक्सीको आरोपमा मङ्सिर १४ गते बिहान १० बजेतिर देवर डम्मर ढुङ्गाल र देवरानी पवित्रा ढुङ्गालले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडितट महिलाका भाइ शेरबहादुर महराले भननुभयो–‘बोक्सी भन्दै मङ्सिर १३ गते दिदीमाथि अभद्र व्यवहार गरिएछ । मङ्सिर १४ गते त दिदीमाथि कुटपिट नै भयो ।’

उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्दै आरोप लगाएर कुटपिट भएको महराको भनाई छ । कथित बोक्सीको आरोपमा कुटपिट गरिएकी उत्तरालाई उपचारका लागि मङ्सिर १४ गते राति नै जिल्ला अस्पताल बैतडी ल्याइएको छ ।

उत्तरामाथि कुटपिट भएको पुर्चौडी नगरपालिका–९ का वडा अध्यक्ष रम्बा बोहराले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो–‘उत्तरामाथि कुटपिट भएको भन्ने कुरा सुनेपछि म गाउँमै पुगेको छु । उनीमाथि कुटपिट भएको छ । के कारणले कुटपिट गरियो भन्ने बारे सोधीखोजी गरिरहेको छु ।’

एकल महिला समेत रहेकी दीदीलाई कुटपिट गरिएकाले आफू दिदीको उपचारकै लागि धनगढीबाट बैतडी पुगेको शेरबहादुर महराले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिले दिदीको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ । कुटपिट गर्नेहरूको नाममा उजुरी गर्ने तयारी गरिरहेको छु ।’

कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट भयो भन्ने खबर आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

उहाँले मङ्सिर १४ गते साँझ खबर पाएको बताउनुभयो । उहाँले भन्नुभयो–‘घाइतेको उपचार गराउन भनेको छु । बोक्सीको आरोपमा अथवा अरू कुनै हिसाबले महिलामाथि कुटपिट गरिएको रहेछ भने कुटपिट गर्नेमाथि कानुनअनुसार कारवाही हुन्छ ।’


नरी बडु