कथित बोक्सीको आरोपमा धामीद्वारा डामिएकी महिलाको उपचार हुँदै

  ०७५ कात्तिक २० गते

पिशाच लागेको उपचार गर्ने भन्दै कमलामाई नगरपालिका–१२ रानीचुरीकी ३७ वर्षीया पुर्णमाया गुर्मछान मगरलाई धामीले तातो पन्युले डामेर घाइते बनाएका छन् ।

नियमित झारफुक गर्ने धामी दुर्गाबहादुर मगरले तातो पन्युले डाम्दा पुर्णमायाको अनुहार पुर्ण रूपले डढेको छ भने जीउमा समेत चोट लागेको छ ।

सामान्य काम्ने तथा अनावश्यक बोल्ने जस्तो रोग देखिएकाले तीनपाटन गाउँपालिका–३ का धामी दुर्गाबहादुर आले मगरको घरमा झारफुक गर्न जाँदा धामीले उनलाई डामेका थिए । धामीले कालो बोको, रातो भाले पुजा गरेर खानुका साथै पीडितलाई डामेका थिए ।

कात्तिक १५ गते भएको घटनाबाट घाइतेको उपचारमा समेत परिवारले ध्यान नदिएको र पीडितका बुबाले थाहा पाएर उनलाई कात्तिक २० गते सिन्धुली अस्पतालमा उपचारका लागि ल्याएका छन् । डामेर घाइते भएकी उनलाई माइती पक्षका बाबुले भेट्न आएका बेलामा घटनाका बारेमा थाहा पाएका थिए ।

कात्तिक १५ गते भएको घटनाको ढाकछोप गर्दै राखेको र उनका बाबुले कात्तिक २० गते अस्पताल ल्याएपछि घटना बाहिर आएको हो । उनका बाबु चन्द्र खुलालका अनुसार छरछिमेकीको समेत मिलेमतोमा धामीले आफ्नी छोरीलाई तातो पन्युले डामेका हुन् ।

कात्तिक २० गते नै कथित बोक्सीको आरोपमा आफ्नी छोरीमाथि अमानवीय व्यवहार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर शोभा पाण्डेका अनुसार उजुरी दर्ता भएपनि धामी फरार भएको बताइन् । आरोपितलाई गिरफ्तार गर्न मातहत प्रहरीलाई आदेश दिइसकिएको पनि उनले बताइन्  ।


बिमला पाण्डे