कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपितलाई गिरफ्तार नगरेको पीडित पक्षको गुनासो

  ०७६ कात्तिक २२ गते

हुप्सेकोट गाउँपालिका–१ बस्ने ६७ वर्षीया मनकुमारी मल्ललाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कावासोती नपा–८ का ३४ वर्षीया ओममाया ठाडाविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले कानुनी प्रक्रिया अगाडि नबढाएको पीडित पक्षले गुनासो गरेका छन् ।

पीडित महिलालाई आरोपितले गत भदौ ३ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १० गते जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएको थियो ।

उजुरी दिएको दुई महिना बढी हुँदा समेत प्रहरीले आरोपितलाई गिरफ्तार नगरेको पीडित मनकुमारीका छोरा मिन मल्लले बताए ।

उजुरी दर्ता गर्ने समयमा समेत प्रहरीले मिलापत्रको लागि दबाब दिएको भन्दै पीडित पक्षले इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेलाई आवश्यक सहयोगका लागि अनुरोध गरेका थिए । इन्सकेको पहलमा भदौ १० गते उजुरी दर्ता भएको थियो ।

घटनाको पछिल्लो अवस्थाबारे बुझ्दा जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले घटनाको बारेमा अनुुसन्धान र आरोपितलाई खोज्ने काम भइरहको प्रतिक्रिया दिए ।


तिर्थराज डुम्रे