कथित बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध उजुरी

  ०७३ भदौ ६ गते

लक्ष्मीपुर गाविस- १ की ३६ वर्षीया रामदुलारी यादवलाई भदौ ३ गते बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही गाविस-९ का ३७ वर्षीय बेचन महतो, ३१ वर्षीय सुलन महतो, २२ वर्षीय रविन्द्र महतो र ४५ वर्षीय सुरज महतोकाविरुद्ध पीडित परिवारले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

पीडितका ससुरा गढुवा राउत यादवकाअनुसार आरोपित सुरज महतोकी बुहारीलाई पीडित राम दुलारीले भुत लगाइ दिएको भन्दै घरमा कोही नभएको मौका छोपी आरोपितहरूले पीडितलाई लाठीले कुटपिट गरेका थिए । घटनाको प्रतिकार गर्दा ४५ वर्षीय उतिम यादव र २० वर्षीय नर्सिङ यादव सामान्य घाइते भएका थिए । स्थानीय त्रीगुना पोली क्लिनिकमा सम्भव नभएपछि पीडितलाई थप उपचारको लागि बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

घटनालगत्तै आरोपितहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका डीएसपी एकनारायण कोइरालाले बताए ।


दुर्गा परियार