कथित बोक्सीको आरोपमा कुटपिट, पीडितको उपचार जारी

  ०७७ भदौ ७ गते

सम्सी गाँउपालिका–७ जावद टोलकी ४५ वर्षीया पवनदेवी यादवलाई भदौ ५ गते राति सोही ठाउँका दिनेश यादव, २५ वर्षीय कृष्ण यादव, आशिक यादव, सुजियादेवी यादवलगायतले कथित बोक्सीको आरोप लगाएर कुटपिट गरी घाइते बनाएको पीडितको आरोप छ ।

घाइते पवनदेवीको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको पीडितका छोरा सञ्जय यादवले जानकारी दिनु भयो ।

उहाँदे भन्नु भयो–‘भदौ ५ गते बेलुका दिनेश यादवको परिवारका सदस्यहरूले आमालाई बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्दा म घरभन्दा बाहिर थिएँ । लगत्तै म घरमा पुग्दा झगडा भइरहेको थियो । सो समयमा मैले प्रहरीलाई खबर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के ।’

उहाँले अगाडि भन्नु भयो–‘त्यसपछि उनीहरू घरमा पुनः राति १२ बजे तिर आएर आमालाई गाली गलौज गर्दै कुटपिट गर्न थाले आमालाई जोगाउन आएका बहिनी रुवी र मलाई पनि कुटपिट गरे ।’

कुटपिट गर्ने क्रममा आफूले लगाएको कपडा च्यातेर दुर्व्यवहारसमेत गरेको पीडित रुवी यादवले आरोप लगाउनु भएको छ ।

दुर्व्यवहार गर्न थाले पछि रोएर चिच्याएपछि स्थानीय आएर आफूलाई बचाएको रुवीले बताउनु भयो । पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मीसँग अनुरोध गरेको छ ।

कुटपिट घटनामा संलग्न कृष्ण यादवलाई भदौ ५ गते राति नै प्रहरीले गिरफ्तार गरेपनि राजनीतिक दबाबका कारण अनुसन्धान बिना नै हिरासतबाट सोही दिन रिहा गरिएको पीडित पक्षको आरोप छ ।

पीडितको तर्फबाट हालसम्म प्रहरीमा उजुरी नआउँदा कानुनी कारवाही प्रक्रिया अगाडि बढाउन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टिका केसीले बताउनु भयो । पीडित पक्षले भदौ ७ गते प्रहरीमा उजुरी गर्ने तयारी गरेको इन्सेक प्रतिनिधिलाई जानकारी दिएको छ ।


अजयकुमार साह