कथित बोक्सीको आरोपमा अमानवीय व्यहार गरेको आरोपमा प्रहरीमा उजुरी

  ०७३ कात्तिक २२ गते

रानीवन गाविस-१ लामिडाँडाकी ७३ वर्षीया पुष्पा सुनारलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ६२ वर्षीय देवर भक्तबहादुर सुनारले अमानवीय व्यवहार गरेको आरोपमा पीडितले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

भक्तबहादुरको आँगनमा कात्तिक १४ गते देउसी भैलोको नाँच हेरेको र सोही राति बाख्राको पाठो मरेको विषयलाई लिएर कात्तिक १५ गते बिहान जेठा देवर सर्जन सुनारको घरमा मरेको पाठो ल्याएर 'तँ बोक्सीले पाठो खाइस् भन्दै धकलपकल गरे' पीडित पुष्पाले भनिन् ।

'मेरो पति पनि छैनन्, जायजन्म पनि केही भएन । देवरले बोक्सी भनेर आरोप लगाए ।'-उनले दुखेसो पोखिन् ।

पीडित पुष्पाले जिल्ला प्रहरी कार्यालयमा झिकाई कारबाही गरिदिन दिएको निवेदनमा जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार रजौरेले गैडाबाज प्रहरी चौकीमा छलफल गराउनु भनी फर्काएकोमा चित्त दुखाएकी छन् । डीएसपी रजौरेले प्रहरी इकाईकै काम र कार्यक्षेत्र भएकोले चौकीमा छलफल गराउन पठाएको बताए ।


अमर सुनार