कतै छाप्रोमा, कतै सडकमा पठनपाठन !

  ०७६ मङ्सिर २८ गते

रुकुम पुर्वका विद्यार्थीहरू छाप्रो र सडकमा पठनपाठन गर्दै आएका छन् । सुन्दा पत्यार लाग्दैन । तर, पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित बालकल्याण आधारभूत विद्यालय हुकामका विद्यार्थीहरू विद्यालय भवन नहुँदा छाप्रोमा बसेर पठनपाठन गर्दै आएका छन् ।

हुकामका विद्यार्थीहरू भवन अभावका कारणले विगत चार वर्षदेखि छाप्रोमा बसेर अध्ययन गर्दै आएका छन् ।

विद्यालयमा भवन अपुग भएपछि विद्यार्थीलाई छाप्रोमै राखेर पठनपाठन गराइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा बालविकास कक्षादेखि ५ कक्षासम्म पठनपाठन हुने गरेको छ । उक्त छाप्रोमा विद्यालयका २ र ३ कक्षामा अध्ययनरत विद्यार्थीको पढाइ हुने गरेको छ । गर्मी, वर्षात् र चिसो याममा ससाना विद्यार्थी छाप्रोमा बसेर पढ्न बाध्य छन् ।

उक्त विद्यालय स्थानीयको पहलमा ०६५ सालमा स्थापना भएको थियो । चार वर्ष अघि ५ कक्षासम्म सञ्चालन गरेदेखि कक्षाकोठा अभाव भएको शिक्षक अशोक घर्तीमगरले बताउनुभयो ।

०७२ साल यताका हरेक वर्षा र हिउँदमा गोठमै पठनपाठन गरेर कटाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा दुई कोठा अपुग छन् ।

एउटा भवन तीन कोठे र अर्को भवन दुई कोठे गरी पाँच कोठा रहेको छ । उक्त कोठामा एकमा कार्यालय, बालविकास कक्षा र कक्षा १, ४, ५ का विद्यार्थी पठन पाठन भइरहेको छ ।

छाप्रोमा पानी चुहिने, पानी पर्दा जस्तापाता बजेको आवाजलगायत व्यवस्थित कक्षाकोठा नहुँदा पढाइमा बाधा परिरहेको विद्यार्थीले दुखेसो पोखेका छन् । एउटै छाप्रोभित्र दुई ठाउँमा काठले बारेर दुई ओटा कक्षा सञ्चालन गरिएको छ ।

बाालविकास सहित ५ कक्षासम्म पठनपाठन गराउने स्वीकृति प्रदान गरेको सरकारले विद्यालयलाई बालविकास शिक्षिका बाहेक अरू शिक्षक दरबन्दी पनि दिएको छैन ।

अन्य विद्यालय जान गाउँदेखि टाढा भएकाले स्थानीय अभिभावकले बालबालिकाका लागि नजिकै विद्यालय स्थापनाको पहल गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्दबहादुर कामीले जानकारी दिनुभयो ।

स–साना बालबालिकालाई पढ्न जानै अप्ठ्यारो तथा टाढा भएपछि विद्यालय स्थापना गर्न गाउँले अघि सरेका थिए ।

सरकारले शिक्षक दरबन्दी उपलब्ध नगराएपनि स्थानीयले नै चार जना निजी स्रोतका शिक्षक राखेर विद्यालय सञ्चालन गरेका हुन् ।

एक शिक्षकलाई मासिक १० हजार रुपियाँ तलब रहेको हुँदा हरेक महिना ४० हजार रुपियाँ जुटाउन हम्मे परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कामीले बताउनुभयो ।

विद्यालयको आम्दानी भनेकै गाउँको चरिचरन शुल्क, लेनदेनबाट सङ्कलन गरिएको रकम र गाउँलेले जम्मा गरेको सहयोग शुल्क हो ।

यसैगरी गाउँमा हुने विभिन्न खालका विकास निर्माणमा श्रमदान गरेर उक्त बजेट बचाई शिक्षकको तलब जुटाउने गरेको उहाँले बताउनुभयो ।

उक्त विद्यालयमा हाल १ सय ८० जना विद्यार्थी अध्यनरत छन् । ‘स्थानीयले योगदान नगर्ने हो भने विद्यालय सञ्चालन गर्नै सकिँदैन । गाउँमै विद्यालय नभए स–साना बालबालिकाले दुःख पाउँछन् ।’–अध्यक्ष कामीले भन्नुभयो–‘त्यसैले जसोतसो भए पनि शिक्षा दिइरहेका छौँ ।’

हरेक वर्ष सरकारसँग आवश्यक भवन माग गर्दा सरकारले ध्यान नदिएको अध्यक्ष कामीको भनाइ रहेको छ ।

सो वडाका वडाध्यक्ष कालिप्रसाद रोकाले भने पहिला कक्षा ३ सम्मको पठनपाठन गर्ने आधारमा पूर्वाधार निर्माण गरिएको बताउनुभयो ।

‘तर स्थानीयले पछि आफू खुसीले कक्षा ५ सम्म पढाइ सञ्चालन गर्नुभएको छ ।’–वडाध्यक्ष रोकाले भन्नुभयो–‘कक्षा ४ देखिका विद्यार्थी नजिकै रहेको देउराली माविमा जानसक्ने भएकाले थप पहल नगरिएको हो ।’

नयाँ शैक्षिक शत्रदेखि अभिभावकसँग छलफल गरेर पुनः कक्षा ३ सम्म झार्न सकिने वडाध्यक्ष रोकाले जानकारी दिनुभयो ।

photo20191214eastrukum (2)

विद्यालय परिसरमा घाम नलागेपछि १५ मिनेट टाढा सडकमा पठनपाठन

सिस्ने गाउँपालिका–८, झिमखोलास्थित बालकल्याण आधारभूत विद्यालयले भवन हुँदाहुँदै विद्यार्थीलाई सडकमा पठनपाठन गराउने गरेको छ ।

विद्यार्थीलाई चिसोबाट बचाउन सडकमा पढाउनु परेको प्रधानाध्यापक मनमती पुनले बताउनुभयो । विद्यालय परिसरमा घाम नलाग्ने भएकाले विद्यार्थीलाई घाम आउने सडकमा ल्याएर पढाइरहेको पुनको भनाइ छ ।

‘न्यानो कपडाको व्यवस्था नहुँदा विद्यार्थीलाई चिसोबाट बचाउन सडकमै विद्यार्थी ल्याएर पढाउन सुरू गरेका छौँ ।’–प्रधानाध्यापक पुनले भन्नुभयो–‘तिहारको बिदा सकिए लगत्तै विद्यालयदेखि १५ मिनेट टाढा लिखाडाँडास्थित सडकमा पठनपाठन सुरू गरिएको छ ।’ जाडो बिदापछि मात्रै विद्यालय भवनमा पढाउन सुरू गरिने विद्यालयले जनाएको छ ।

यस अघिका वर्षमा पनि चिसो महिनाभर सडकमै पढाउँदै आएको पुनले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्म पठनपाठन हुने विद्यालयमा १ सय ४ जना विद्यार्थी भर्ना भएपनि दैनिक पठन पाठनकालागि ७० देखि ८० जना विद्यार्थी आउने गरेको विद्यालयले जनाएको छ ।

चिसो स्थानमा भवन भएको पिडा मात्रै होइन विद्यालयले शिक्षकको समेत अभाव खेपिरहेको छ । यसअघि ५ जना शिक्षक कार्यरत विद्यालयमा अहिले ३ शिक्षक मात्र छन् ।

गाउँपालिकाको अनुदान र राहत कोटाका शिक्षकले शिक्षक सेवा आयोगमा नाम निकालेपछि दुई जना शिक्षक बाहिरिनु भएको हो ।

सिस्ने गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढा मगरले विद्यालय स्थापना गर्दा घाम नलाग्ने स्थानमा निर्माण गरे अहिले उक्त ठाउँमा सबै पूर्वाधार तयार भएकोले अन्यत्र सार्न पनि गाह्रो रहेको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

photo20191214eastrukum (1)

photo20191214eastrukum (4)

कापि किताबसँगै चटाई र बोरा बोकेर पढ्न जान्छन् बालबालिका

विद्यालय भवन भएको ठाउँमा घाम नलाग्ने भएकाले चिसो समयमा स–साना बालबालिकालाई कठ्याङ्ग्रिनबाट बचाउन घाम लाग्ने डाँडाको सडकमा राखेर पठनपाठन गराउन थालेपछि सडकमा बस्नका लागि विद्यार्थीहरू कापि किताबसँगै बोरा र चटाई बोकेर विद्यालय जान्छन् ।

बिहान ओछ्याउने बोकेर पढ्न जाने उनीहरू बेलुका त्यही बोकेर घर फर्कन्छन् । कापी, किताब सहितको झोलाका साथमा बस्ने बोरा वा चटै बोक्नु विद्यार्थीका लागि अनिवार्य जस्तै बनेको छ ।

photo20191214eastrukum (3)


जयमान बुढा मगर