कक्षा अनुसार शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

  ०७६ मङ्सिर ८ गते

पाल्पा जिल्लाका १२ ओटा विद्यालय शिक्षक दरबन्दी बिना नै सञ्चालन हुँदै आएका छन् । कक्षा अनुसारको शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या हुँदै आएको छ ।

तिनाउ गाउँपालिका र रैनादेवी छहरामा सबैभन्दा बढी शुन्य दरबन्दीमा सञ्चालित विद्यालय रहेका छन् ।

तिनाउ गाउँपालिकाका तीन ओटा मावि, रैनादेवी छहरा गाउँपालिकामा तीन ओटा मावि, निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दी बिना नै जबरजस्त कक्षा सञ्चालनमा छन् ।

तिनाउ गाउँपालिकाको कोलडाँडामा रहेको बद्धविकास मावि, तिनाउको दोभानस्थित थानीडाँडा मावि, मस्यामको जनदीप मावि, रैनादेवी छहरा गाउँपालिकाको गहते मावि, भुवनपोखरीमा रहेको जोगवाणी मावि, जुठापौवास्थित गुहारठाना मावि, तानसेनकै भसलडाँडा मावि, निस्दी गाउँपालिकाको जनप्रिय मावि र ज्यामिरेका जनप्रिय मावि, रिब्दीकोट गाउँपालिकाको भाष्कर मावि र खस्यौलीको खस्यौली माविमा शुन्य दरबन्दीमा माध्यमिक तहको पठनपाठन हुँदै आएको छ ।

शिक्षा विकास तथा समन्वय एकाई पाल्पाका अधिृकत विष्णु बेल्वासेले ०६६ सालदेखि शिक्षक दरबन्दी वितरण नभएकाले यो समस्या भएको बताउनुभयो ।

उनले मावि तहको शिक्षक अस्थायी रूपमा राख्नका लागि शिक्षण अनुदानबाट रकम उपलब्ध गराइएपनि पर्याप्त नभएको बताए ।

यसरी दरबन्दी नभएका विद्यालयमा प्राथमिक र आधारभुत तहका शिक्षकहरूले माध्यमिक तहसम्म अध्यापन गराउँदै आएका छन् ।

५ सय १९ जना विद्यार्थीहरूले अध्ययन गर्दै आएको तानसेनकै भुसालडाँडा माविमा शिक्षक दरबन्दीको अभावमा प्रावि र आधारभुत तहका शिक्षकहरूले नै माध्यमिक तहसम्म अध्यापन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक राजेन्द्र बस्यालले बताउनुभयो ।


यज्ञमूर्ति तिमिल्सिना