कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ ।
कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो । यो विद्यालय बालविकास कक्षादेखि कक्षा ५ सम्मको छ तर कक्षाकोठा अपुगका कारणले बालविकास कक्षा (शिशु कक्षा), कक्षा १ र २ एउटै कक्षाकोठामा तथा कक्षा ३ र ४ एउटै कक्षाकोठामा राखेर पठन पाठन गराउन बाध्य हुनु परेको विद्यालयका प्रधानाध्यापक रामलाल बुढा मगरले बताउनुभयो ।
‘जसलाई बहुशिक्षा भन्ने पनि गरेका छौँ । फरकफरक कक्षाकोठा तथा बालमैत्री कक्षाकोठाको व्यवस्था हुनुपर्छ । तर, माथिल्लो कक्षाका विद्यार्थी र तल्लो कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाउँदा विद्यार्थीलाई बुझाइमा समस्या हुने गरेको छ ।’–उहाँले भन्नु भयो ।
शिशु कक्षा र कक्षा १ का ११ जना, कक्षा २ का दुई जना, कक्षा ३ का चार जना त्यसैगरी कक्षा ४ का ६ जना र कक्षा ५ का पाँच जना गरी २८ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा एक स्थायी, एक अस्थायी दरबन्दी र एक राहत कोटाका गरी तीन जना शिक्षक कार्यरत छन् ।
बालविकास अर्थात शिशु कक्षाका लागि बाल शिक्षिका नभएकाले पनि थप समस्या पैदा भएको शिक्षक राजेन्द्र गौतमले गुनासो गर्नुभयो ।
‘एउटै कोठामा फरकफरक कक्षाका विद्यार्थी राखेर पठनपाठन गराउँदा सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेकोले अत्यासलाग्दो नतिजा आउने गरेको छ । पूर्वाधार विकासको पनि समस्या रहेको छ जसले गर्दा पठनपाठनको आवश्यक वातावरणको व्यवस्थापन नभकाले शिक्षण क्रियाकलापमा असर पु¥याई रहेको छ ।’–गौतमले भन्नु भयो ।
२०४५ सालमा स्थापना भएको यस विद्यालयमा अहिले सम्ममा शिक्षक दरबन्दी र आवश्यक पूर्वाधार विकासबाट राज्यले वञ्चित गर्दै आएको अभिभावकहरूको आरोप छ ।
विद्यालय भवन दुई ओटा मात्र रहेको छ । एउटा भवन दुई कोठे र अर्काे तीन कोठे गरी विद्यालयमा पाँच कोठा मात्रै छन् ।
बालविकास कक्षादेखि कक्षा ५ सम्म रहेको विद्यालयमा कक्षागत रूपमा विद्यार्थीलाई राख्दा विद्यार्थीको लागि मात्र ६ कोठाको आवश्यक पर्ने भएपनि विद्यालयमा जम्मा पाँच ओटा मात्रै कोठा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिमान बुढा मगरले जानकारी दिनुभयो ।
‘हामीसँग सबै गरेर पाँच कोठा मात्र छन् । त्यसमा एउटा कार्यालय र एउटामा विद्यालयको स्टोर रहेको छ । विद्यार्थी कक्षा कोठाका लागि तीन कोठा मात्र रहेको छ । कक्षाकोेठा अपुग हुनुका साथसाथै बालविकास कक्षाका लागि शिक्षिकाको दरबन्दी रिक्त भएकाले निकै समस्या भएको छ ।’–अध्यक्ष बुढाले भन्नुभयो ।
बालमैत्री भवन र पुर्वाधारमा समेत समस्या
यसैगरी विद्यालयमा बालमैत्री धारा, बालमैत्री कक्षाकोठा र बालमैत्री शौचालय समेत नहुँदा बालबालिकाहरूलाई समस्या हुने गरेको छ ।
भएको एउटा शौचालय पनि जीर्ण अवस्थामा रहेको छ । खानेपानीका लागि ग्याल्लिनमा पानी ल्याउनुपर्ने अवस्था छ ।
विद्यार्थीले खेल्ने मैदान पनि छैनन् । यस्ता व्यवस्थापनका लागि विद्यालयले माग गर्दा पनि विद्यार्थीको सङ्ख्या कम रहेको भन्दै योजना नदिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाले बताउनु भयो ।
विद्यार्थीको सङ्ख्याका आधारमा शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुपर्ने शिक्षा ऐनले व्यवस्था गरेको छ । त्यही कारणले बाल शिक्षिकाका लागि विद्यार्थी सङ्ख्या कम रहेकाले पहल नगरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।
तर, पूर्वाधार विकासका लागि विद्यालयबाट नै योजना माग नआएको उहाँले बताउनु भयो । विद्यालयको कक्षा घटाउने, बढाउने तथा कुनै विद्यालयसँग मर्ज गराउने स्थानीय तहलाई अधिकार रहेकाले विद्यार्थी सङ्ख्या कम र वडा नं. २ मा पर्ने काँक्री मावि तथा आधारभूत विद्यालय खाबाङ नजिक रहेका कारण नयाँ शैक्षिक सत्रमा अभिभावकसँग छलफल गरेर कक्षा ३ मा झार्न सकिने अध्यक्ष मगरले बताउनु भयो । त्यसो नभएमा आवश्यक पूर्वाधार निर्माण गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
जयमान बुढा मगर
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…