कक्षाकोठामा हुनुपर्ने बालबालिका आरनमा घोटिँदै

  ०७६ भदौ १ गते

सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँकी ११ वर्षीया उर्मिला सुनार कान्ति निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छिन् । विद्यालयमा भन्दा धेरै समय आरन पेसामै बित्ने गरेको उनले बताइन् ।

 

घरको आर्थिक अवस्था कमजोर भएकाले आमाबाबुलाई आरनको काममा सहयोग गर्ने गरेकी छिन् । दैनिक जसो उनी सल्लाको बोक्रा संकलन गर्न नाम्खा गाउँपालिकाको खगाँल गाउँको वनमा पुग्ने गर्छिन् ।

 

कापी–कलम किन्ने पैसा नहुँदा स्कुल जान नसकेको उनी बताउँछिन् । स्कुल जान छाडेपछि आमाबाबुसँग आरनको काममा सहयोग गर्दै आएको उर्मिलाले बताइन् ।

 

‘विद्यालय जाऊँ भने कहिले कापी हुँदैन त कहिले कलम र लुगा हुँदैन, त्यसैले पढ्न मन भए पनि जान मन लाग्दैन ।’–उनले भनिन् । उर्मिलाजस्तै खोल्सीगाउँका पाँच घरका बालबालिकाको समस्या उस्तै छ ।

 

खोल्सीगाउँकै रूपसिंह सुनारले आर्थिक अवस्था कमजोर भएकै कारणले विद्यालय छाडेको गुनासो गरे । कक्षा ६ मा पढ्दा–पढ्दै उनीहरू बीचमै स्कुल जान छाडेका हुन् । ‘१० वर्षको उमेरमै बुबा बित्नुभयो । घरमा आमा र भाइबहिनी छन् ।’–उनले भने ।

 

‘आफ्नो नाममा जग्गा पनि छैन । त्यही भएर आरन पेसा गरेर परिवार खर्चको जोहो गर्ने गरेको छु ।’– सुनारले भने ।

 

पालो लगाएर आरनको काम

खोल्सीगाउँका पाँच घरधुरीले ६/६ दिन पालो लगाएर आरनको काम गर्ने गरेका छन् । उनीहरूले आरनमा हँसिया, कोदाली लगायत फलामका सामान बनाउने गरेका छन ।

 

‘प्रति घरधुरी ३५ केजी खाद्यान्न दिन्छन् । त्यही खाद्यान्नले परिवारको खर्च चलाउँछु ।’–स्थानीय धउले सुनारले भने–‘छोराछोरी छन्, गाउँको खेतमा उब्जनी हुँदैन । यो काम नगरे कसरी बालबच्चा पाल्नु, आफू के खानु ?’

 

सिमकोट गाउँपालिका–८ का स्थानीय सबले सुनार, नाना सुनार, रूपसिंह सुनार, कालीबहादुर सुनार र कर्ण सुनारले नाम्खा गाउँपालिका–३ को खगालगाउँमा आरन चलाएर परिवारको खर्च जोहो गर्दै आएका छन् ।

 

आमाबाबु घरमा नबस्ने र आरनको कामका लागि हिँड्ने गरेपछि बालबालिका पनि विद्यालय छाडेर आमाबाबुसँगै बस्ने गरेका छन् ।


नन्द सिंह