औषधी अभाव हुँदा सेवाग्राही समस्यामा

  ०७७ भदौ ३० गते

अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सवाग्राहीहरुले गुनासो गरेका छन् ।

नगरपालिकाकास्थित घटाल स्वास्थ्य चौकी, सहश्रलिंग स्वास्थ्य चौकी, उग्रतारा स्वास्थ्य चौकी र भूमिराज स्वास्थ्य चौकीमा औषधी अभाव भएपछि त्यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको हो ।

स्वास्थ्य चौकीमा चेकजाँच हुने भएता पनि नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएका औषधीहरु निजि क्लिनिकबाट किन्नु पर्ने बाध्यता रहेको अमरगढी नगरपालिका–१ का गणेश ऐरले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘बिरामी भएर स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मीले चेकजाँच मात्रै गर्छन् । स्वास्थ्य चौकीले दिने निशुल्क औषधीसमेत निजी क्लिनिकबाट किन्नु पर्ने बाध्यता छ ।’

अमरगढी नगरपालिका–७ का नरेश भण्डारीले स्वास्थ्य चौकीमा औषधीको अभाव हुँदै अएको बताउँदै स्थानीय सरकारले यसमा पहल  गर्न नसकेको आरोपि लगाउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य सेवा सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहमा आएकोको छ । तर, सुधार हुन सकेको छैन् । स्वास्थ्य चौकीमा पाउने निःशुल्क औषधी नपाएको अवस्था छ । चेकजाँच गरेर रित्तै घर फर्किनु परेको छ ।’

लकडाउन भन्दा पहिले विरामीहरु उपचार तथा चेकजाँचका लागि डडेल्धुरा अस्पताल जाने गरेको भएपनि लकडाउनपश्चात ग्रामीण क्षेत्रका बिरामीहरु स्वास्थ्य चौकीमा आउने क्रम बढेको स्याउले नगर स्वास्थ्य चौकीका इन्चार्ज भोजबहादुर पालले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीमा चेकजाँच त गरिन्छ । तर, निःशुल्क वितरण गर्नु पर्ने औषधी नहुँदा सेवाग्राहीहरुले निजी मेडिकलबाट औषधी किन्नु पर्ने बाध्यता छ ।’

अमरगढी नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट निःशुल्क रुपमा वितरण गरिने जिङ्क, जेन्सन भाईलेट (जिभि), सिटामोल, ग्यास्ट्रीक लगायका औषधीहरुको अभाव रहेको अमरगढी नगरपालिका–७ स्थित डकले आधारभूत  स्वास्थ्य चौकीका इन्चार्ज महादेव भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘निःशुल्क वितरण गरिने औषधी स्वास्थ्य चौकीमा छैन् । दैनिक रुपमा १० / १५ जना बिरामीहरु स्वास्थ्य चौकीमा आउनु हुन्छ । बिरामीहरुको चेकजाँच गरेर औषधी किन्न निजी मेडिकल वा क्लिनिकमा जानुस् भन्नु पर्ने बाध्यता भएको छ ।’

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नियमित रुपमा भएका लकडाउनका कारण  नयाँ आर्थिक वर्षको बजेट निकासा हुन केही समय लागेकोले औषधी व्यवस्थापनमा समस्या भएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘औषधी खरिदका लागि १० लाख १ हजार ५ सय रुपियाँको टेण्डर स्विकृत भइसकेको छ । एक हप्ताभित्रै नगरका सवै स्वास्थ्य संस्थाका लागि  औषधी खरिद प्रकिया अगाडी बढ्छ । अहिलेको जस्तो समस्या हुँदैन् ।’


भूपेन्द्र बिष्ट