औषधि र चिकित्सकको अभावका कारण बिरामीलाई जिल्ला बाहिर 'रिफर'

  ०७३ माघ २४ गते

जिल्ला अस्पतालमा चिकित्सक र औषधिको अभाव भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामीलाई जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको जिल्ला अस्पतालले जनाएको छ ।

ठेहे गाविस-६ का ३५ वर्षीय विर्ष भण्डारी चाउकोमा चोट लागेपछि उपचारका लागि माघ २४ गते अस्पताल पुगेपनि अस्पतालमा चिकित्सक र औषधिको अभाव भएपछि अस्पतालले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा 'रिफर' गरेको बिरामीका आफन्त लालबहादुर भण्डारीले गुनासो गरे ।

ढुङ्गाले टाउकामा चोट लागेर घाइते भएका विर्षलाई गाउँले मिलेर स्टेचरमा बोकेर अस्पतालमा पुर्‍याएका थिए । तर, अस्पतालमा सिटिस्क्यान मेसिन नभएको तथा एमोक्सिलिन र क्लोसिलिन औषधि सकिएका कारण उपचारका लागि अन्यत्र पठाएको अस्पतालले जनायो ।

अस्पतालमा सिटिस्क्यान मेसिन नभएको र विर्षभण्डारीका लागि आवश्यक एमोक्सिलिन र क्लोसिलिन औषधि नहुँदा नेपालगन्ज 'रिफर' गरिएको अस्पतालका निमित्त प्रमुख गगन शाहीले बताए ।

जिल्ला अस्पतालमा हाल दुई जना चिकित्सक करारमा कार्यरत रहेका छन् । अहेव र अनमी ६ जनाको दरबन्दीमा दुई जनामात्र कार्यरत रहेको अस्पतालले जनाएको छ । अस्पतालमा दुई जना करार र दुई जना स्थायी चिकित्सकको दरबन्दी रहेको छ ।


नन्द सिंह