औषधि नहुँदा बर्थिङ सेन्टर सञ्चालनमा समस्या

  ०७४ वैशाख ६ गते

धोनिवी गाउँपालिकाको भिखमपुरमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रथामिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधि उपलब्ध गराउने सरकारी नीति रहेपनि भिखमपुरमा भने जीवनजल र सीटामोलसमेत नरहेको बताइएको छ ।

एक महिनादेखि औषधिको अभाव भएको सो केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । सुत्केरी महिलाहरूले खाने आइरन चक्कीसमेत नरहेको स्वास्थ्यकर्मीको भनाई छ ।

बर्थिङ सेन्टरकालागि चाहिने आवश्यक औषधि नभएर सेवा प्रभावित भएको केन्द्रका बरिष्ठ हेल्थ असिष्टेण्ट सञ्जयकुमार यादवले बताए ।

स्वास्थ्य केन्द्रमा त्यस क्षेत्रका पिपरा, बिजवनीया, जानकीटेला, जगरनाथपुर, गुलरियालगायताका गाउँका दैनिक १ सयको हाराहारीमा सेवाग्राहीहरू उपचारका लागि आउने गरेको उनले बताए ।

औषधि अभावमा उपचार नहुँदा आफूहरूले सेवाग्राहीबाट गाली खानु परेको यादवको गुनासो छ । औषधि अभावमा बर्थिङ सेन्टरको सेवा बन्द रहेको अनमी बिना पौडेलले बताइन् । उपचारका लागि आउने महिलाले सेवा नपाएपछि र औषधि नभएपछि आफूहरूलाई गालीगलौज गर्दै 'बसेर तलब मात्रै खाएर हुँदैन' भन्दै धम्कीसमेत दिने गरेको स्टाफ नर्स सङ्गीता मानन्धरले बताइन् ।

स्थानीय तह सञ्चालनमा आएपछि औषधि खरिदको जिम्मेवारी पनि स्थानीय तहमै गएको छ । स्थानीय तहले कामको राम्रो मेसो नसमात्दा औषधिको खरिद हुन सकेको छैन । कतिपय स्थानमा स्थानीय तहले औषधि खरिद गर्नुपर्ने समेतको जानकारी नभएको जनाइएको छ ।

धोवीनी गाउँपालिकाको स्वास्थ्य समितिका संयोजक भरत चौधरीले औषधिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई लेखी पठाएको बताए । उनले गाउँपालिका कार्यालय समेतलाई जानकारी गराइएको बताउँदै छिटै समस्या समाधान हुने बताए ।


के.सी.लामिछाने