औषधि नहुँदा औलोका बिरामीलाई समस्या, उपचार सामग्री ६ महिनादेखि नेपालगञ्जमा अलपत्र

  ०७६ असोज ८ गते

ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिकामा मलेरियाको सङ्क्रमण बढेपनि स्थानीय स्वास्थ्य चौकीहरूमा आठ महिनायता औषधि नहुँदा बिरामीलाई समस्या भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गतवर्ष माघ यता औलो रोगको औषधि नहुँदा तीनओटा गाउँपालिकाका बिरामीलाई समस्या भएको हो ।

हाल तीन गाउँपालिकाका ६ जनालाई औलोको समस्या रहेको जनस्वास्थ कार्यालयका प्रमुख तुलसीप्रसाद अधिकारीले जानकारी दिए ।

औलो नियन्त्रणका लागि काठमाडौँबाट पठाइएका स्वास्थ्य सामग्री नेपालगञ्जमा बेवारिसे पाइएको भनिएता पनि सो सामग्री औषधि नभएर उपचारका क्रममा हातमा लगाउने पञ्जा मात्र रहेको अधिकारीले बताए ।

सो सामग्री काठमाडौँ कोर्टियर कुरियरमार्फत नेपालगञ्ज पठाएको भएपनि आफ्नो सम्पर्कमा नभई अरूको सम्पर्कमार्फत् आएको हुँदा जिल्ला जनस्वास्थ्य कार्यालय जानकार नभएको अधिकारीको भनाई छ ।

गत वर्षको माघ महिनामा पनि हुम्लामा औलोको प्रकोप देखिएको भएपनि डेढ महिनापछि मात्रै चैत १७ गते इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सामग्री पठाएको अधिकारीले बताए ।

गत चैतमै सामग्री पठाइएपनि महाशाखाले खबर नगरिदिँदा सामग्री नेपालगञ्जमा बेवारिसे भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।

६ महिनासम्म पनि सामग्री लिन कोही नआएपछि स्वास्थ्य सामग्री राखिएको नेपालगञ्जको राँझास्थित दीप गेष्ट हाउसका सञ्चालक पञ्चलाल कार्कीले साथीहरूमार्फत् फेसबुकमा सूचना हालेका थिए ।

फेसबुकमा सूचना आएपछि मुगु र हुम्लाका स्वास्थ्य कार्यालयदेखि काठमाडौँको स्वास्थ्य सेवा विभागसम्म तरङ्ग पैदा भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले सामग्री जिल्लामा नपुगेको बारेमा छानविन भइरहेको बताए ।

मुगु र हुम्लाका लागि प्याथोलोजीका सामग्री पठाइएपछि समन्वय नहुनु त्रुटि भएको पोखरेलको भनाई छ ।

गत वर्ष हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिकामा पनि ३० जनामा औलोको सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण देखिएपछि सोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक प्याथोलोजीका सामग्री पठाइदिन स्वास्थ्य सेवा विभागसँग माग गरेको थियो ।

हाल जिल्लामा देखिएको सो रोग नियन्त्रणका लागि हुम्लामा औषधि सहित चिकित्सकको टोली पठाउन रोग नियन्त्रण महाशाखामा अनुरोध गरिएकोमा अब केही दिनभित्रै चिकित्सक पुगेर रोग नियन्त्रणमा आउने जनस्वास्थ्य प्रमुख अधिकारीले बताए ।


नन्द सिंह