औषधि खरिद गर्न अलमल, स्वस्थ्य सस्थामा रितिदै औषधि

  ०७४ पुस २८ गते

जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच समन्वय हुन नसक्दा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने औषधि अझै खरिद हुन सकेको छैन ।

केन्द्र सरकारले औषधि व्यवस्था गर्न बजेट स्थानीय तहलाई पठाएको भए पनि राज्यको नयाँ संरचनाको कार्यान्वयनमा अलमल हुँदा पूर्वाधार विकासमा मात्र होइन औषधि खरिद समेत रोकिएको छ ।

अहिलेसम्म जिल्ला अस्पतालसमेत सबै स्वास्थ्य संस्थाहरू औषधि आपूर्ति व्यवस्था विभागले पठाएको औषधिका भरमा चलेका छन् ।

स्थानीय सरकारले तत्काल औषधि खरिद नगरे छिट्टै जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा औषधि 'स्टक आउट' हुने जोखिम बढेको छ । 'केहीबाहेक अहिलेसम्म जिल्लाबाट औषधि ल्याएका छौं । अब गाउँपालिकाले औषधि खरिद गरी उपलब्ध गराउने भन्ने सुनेका छौं । तर, कुनकुन औषधि खरिद गर्ने कसैले माग फारम भरेका छैनौँ ।'-सभापोखरी गाउँपालिका-१ स्थित धुपु स्वास्थ्य चौकीकी इञ्चार्ज दिपा पोख्रेलले भनिन-'स्वास्थ्यका कर्मचारी र जनप्रतिनिधिबिचमा समन्वय नभएर औषधिको माग कहाँ गर्ने, कसरी ल्याउँछन् सबै अन्योल छ ।'

असोजमै औषधि अभाव देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले नगर र गाउँपालिकाहरूमा औषधि खरिद गर्न पत्राचार गरेको थियो । तर, स्थानीय तहमा अलमल देखिएपछि जिल्ला स्वास्थ्यले औषधि आपूर्ति व्यवस्था विभागमार्फत क्षेत्रीय मेडिकल स्टोरबाट आवश्यक औषधि ल्याई जिल्लाका स्वास्थ्य संस्थाहरूमा पठाएको थियो ।

त्यसयता स्थानीय तहमार्फत हुनुपर्ने आपूर्तिको प्रक्रिया सुरू भएको छैन । पहिलेका औषधि सकिँदै जाँदा अहिले स्वास्थ्य संस्थाहरूमा सिप्रो, आइब्रूफिनज, एमोक्सोसिलिन, मेट्रोन जस्ता केही एन्टिबायोजिक औषधि अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

'स्थानीय सरकारमा औषधि खरिद विषयमा अलमल देखेपछि हामीले एकपटक क्षेत्रीय स्टोरबाट मगाएका थियौं तर अब प्रक्रियागत रूपमा त्यस्तो गरिरहन मिल्दैन ।'-जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेण्डेण्ट डा. विनितकुमार झाले भने-'अब पनि औषधि खरिद प्रक्रिया सुरू नगरे जिल्लाका सबै स्वास्थ्य संस्था औषधिको हाहाकार हुने अवस्था छ ।'

सङ्खुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका सहित १० वटा स्थानीय तह छन । यिनमा कुनै पनि स्थानीय तहले औषधि खरिद गरेका छैनन् ।

गत वर्षजिल्लाले ४० लाखको औषधि खरिद गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. विनीतकुमार झाले बताए । 'पहिलेको औषधि मिलाएर सबै तहमा पठाएका छौँ ।'-झाले  भने-'अब हामीलाई औषधि खरिद गरेर स्वास्थ्यसंस्थामा पठाउने अधिकार छैन । त्यसैले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट झिकाएर व्यवस्थापन गर्दैछौँ ।' ४० लाख रुपियाँको बजेट १० तहमा बाँड्दा जिल्ला अस्पतालमा औषधि अभाव भएको उनले बताए ।

स्थानीय जनप्रतिनिधि र कर्मचारीको समन्वय अभावले अत्यावश्यक औषधि खरिद रोकिएको मात्र होइन, खरिद गरेपछि कहाँ भण्डारण गर्नेबारे पनि अन्योल छ । केन्द्र सरकारले स्वास्थ्य संस्थाको जिम्मेवारी हस्तान्तरण सुरू गरेपनि विभिन्न भ्याक्सिन भण्डारण गर्ने कोलचेन, औषधि भण्डारण गर्ने मापदण्ड अनुसारको स्टोर र अन्य उपकरणहरू राख्ने छुट्टाछुट्टै स्टोर छैनन् ।

हरेक स्थानीय तहमा मातहतका स्वास्थ्य संस्थाबिच समन्वय गर्न कम्तीमा एक जना स्वास्थ्य संयोजक खटाइएको छ । स्वास्थ्य चौकीका औषधिसमेत सबै माग फारम स्थानीय तहमार्फत जिल्ला हुँदै केन्द्रीय निकायमा पठाउनुपर्ने प्रावधान छ ।


बावुराम बास्तोला