औषधि अभाव हुँदा बिरामी समस्यामा

  ०७६ मङ्सिर २८ गते

संविधान भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ भनी उल्लेख छ, तर बैतडीका नागरिकलाई भने यो धाराले छोएको छैन ।

जिल्ला अस्पताल बैतडीलगायत ग्रामीण क्षेत्रमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा यहाँका बिरामीहरू समस्यामा परेका छन् ।

जिल्ला अस्पताल, बैतडीमा आठ महिनादेखि सबै प्रकारका औषधिहरू नहुँदा समस्या भएको अस्पतालका प्रमुख डाक्टर जगदीश विष्टले बताउनुभयो ।

नेपाल सरकारको नियामनुसार हाल जिल्ला अस्पतालबाट ७० प्रकारका औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

तर, जिल्ला अस्पताल, बैतडीमा १५–१६ प्रकारका औषधि मात्रै रहेको डक्टर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो–‘यी औषधिहरू पनि नियमित आउँदैनन् ।’

औषधि अभावको बारेमा पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत अझैसम्म आपुर्ति हुन नसकेको उहाँको भनाइ छ । ‘नेपाल सरकारले निशुल्क दिने भनेका सबै औषधि कहिले पनि पुरा भएनन् ।’–उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालमा मात्रै होइन अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि नेपाल सरकारले निःशुल्क दिने भनेका औषधिको अभाव छ ।

यहाँका स्थानीयले सामान्य बिरामी पर्दा समेत निजी मेडिकलको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय जयदेव पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘जिल्ला अस्पताल जाँच गराउन मात्रै जाने हो औषधिका लागि त निजी मेडिकलकै भर पर्नुपर्छ ।’

नेपाल सरकारले निशुल्क औषधिको बर्गिकरण गरेपनि कहिल्यै पनि ति सबै औषधिहरू स्वास्थ्य संस्थामा पुग्न नसकेको उदयदेव स्वास्थ्य चौकीका प्रमुख अहेब नरेन्द्र मेहताले बताउनुभयो ।

नेपाल सरकारले विपन्न नागरिकको उपचारमा सहजताका लागि ल्याएको विमा कार्यक्रम अन्र्तगत विमित सदस्यहरूले समेत औषधि नपाएको गुनासो गरेका छन् ।

बिमा गरेपछि प्रति परिवार १ लाख रुपियाँसम्मको औषधि र उपचार निःशुल्क पाउनुपर्ने भएपनि सो सेवाबाट आपूmहरू वञ्चित भएको मेलौली नगरपालिका ३ का बिरसिंह बोहराले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो–‘स्वास्थ्य बिमा गराएँ । तीन दिन चार घण्टा हिँडेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि माग्न गएँ । एक दिनपनि औषधि दिएनन् । फसाए यी बिमावालाहरूले !’

उहाँले दोहोर्‍याउनुभयो–‘२ हजार ५ सय रुपियाँको औषधि मेडिकलबाट नै किनेको भए बरू हुन्थ्यो । फोकटमा तिनीहरूलाई दिएजस्तो लागेको छ । बिरामी भएको बेला औषधि दिएनन् भने अब कहिले दिन्छन् ?’

बिमित सदस्यहरूले निःशुल्क रूपमा पाउने औषधिहरू स्वास्थ्य संस्थामा नभएकाले उनीहरूले किन्नुपर्ने बाध्यता भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदीश विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘बिमाको कार्ड ल्याएर के गर्ने स्वास्थ्य चौकीमा औषधि पनि हुनुप¥यो नि !’ औषधि अभावको समस्याका बारेमा राज्य संवेदनशील हुनुपर्ने स्थानीय सञ्चारकर्मी गोकर्ण दयालको भनाइ छ ।

स्वास्थ्य संस्थाहरूमा औषधिको व्यवस्था नहुँदा स्वास्थ्य बिमा कार्यक्रम समेत सोचे अनुसार प्रभावकारी हुन नसकेको स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख विष्णु जोशीले बताउनुभयो ।


नरी बडु