औषधि अभाव सम्बन्धमा जनस्वास्थ्य कार्यालयद्वारा आयोगमा जवाफ पेश

  ०७३ भदौ १५ गते

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका केही स्वास्थ्य संस्थामा औषधिको अभाव भएपनि स्वास्थ्य सेवा नै प्रभावित हुने गरी औषधि अभाव नभएको लिखित जवाफ भदौ १४ गते पठाएको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाउँदै आयोगका नेपालगञ्जस्थित कार्यालय प्रमुख मुरारीप्रसाद खरेलले भदौ ७ गते जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुखलाई औषधि अभावका सम्बन्धमा लिखित जवाफ पेश गर्न अनुरोध गरेका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पेश गरेको लिखित जवाफमा स्वास्थ्य संस्थाहरूमा पूर्णरूपले औषधि नपुगेको सत्य भए पनि सेवा नै प्रभावित हुने गरी औषधि अभाव भएको भन्ने कुरा असत्य रहेको जवाफ पत्रमा पेश गरेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताए ।

औषधि खरिदका लागि बजेट पारित ढिलो हुने, ढिलो गरी अख्तियारी आउने र खरिद प्रक्रियाका लागि टेण्डरमा समेत लामो समय लाग्ने भएका कारण औषधि खरिद प्रक्रियामा ढिलाई भएको जनस्वास्थ्य कार्यालयले पठाएको जवाफमा उल्लेख भएको आयोगले जनाएको छ ।

आयोगमा पठाइएको लिखित जवाफ सम्बन्धमा प्रतिक्रिया माग्दा जनस्वास्थ्य प्रमुख डा. विनोदकुमार गिरीले लिखित रूपमा माग्दा मात्र दिन सकिने र अन्यथा प्रतिक्रिया दिन नसकिने बताए ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले भदौ १४ गते क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सुर्खेत र क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्जलाई औषधि अभावको अवस्था, कारण र मौज्दात औषधिको अवस्थाका विषयमा लिखित जवाफ पेश गर्न अनुरोध गरेको छ ।


विनोद पाण्डे