औषधि अभावका कारण रित्तै फर्कनु परेको सेवाग्राहीको गुनासो

  ०७६ चैत १० गते

संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

संविधानले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेपनि स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क वितरणका लागि उलपब्ध गराएको औषधि नपाएको गुनासो सेवाग्राहीहरूको छ ।

सदरमुकाम इनरूवासहित विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा एक महिनायता स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ ।

समयमा स्थानीय तहले निशुल्क वितरण हुने औषधि खरिद नगरेको कारणले स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको हो ।

इनरूवा नगरपालिका–१ जल्पापुरका स्वास्थ्य सेवाग्राही दीपेश गुप्ताले भन्नुभयो “गाउँपालिका भन्दा नगरपालिकामा बढी विकास भएको हुनुपर्ने हो तर इनरूवा नगरपालिकाको जल्पापुर स्वास्थ्य चौकीमा निःशुल्क भनिएको औषधि महिनौदेखि अभाव भएको छ।”

स्वास्थ्य चौकीमा निशुल्क वितरण हुने औषधिमा सिटामोल समेत नभएकोले बजारबाट किनेर खानु परेको गुनासो गुप्ताको छ ।

मौसम परिर्वतनको समय सुरु भएँसँगै रूघाखोकी, टाउको दुख्ने, समस्याले स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकी पुगेकाहरू रित्तै फर्कन बाध्य भएको स्वास्थ्यकर्मी ध्रुव मेहताले बताउनुभयो ।

जल्पापुर स्वास्थ्य चौकी, बबिया स्वास्थ्य चौकी, चान्दबेला स्वास्थ्य चौकी, मधेसा स्वास्थ्य चौकी, डुम्राहा स्वास्थ्य चौकी सहित १० ओटै वडाको स्वास्थ्य केन्द्रहरुमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधि अभाव भएको अधिकारकर्मी सोनी यादवले बताउनुभयो ।

नेपाल सरकारले सम्पूर्ण सरकारी स्वास्थ्य चौकीबाट ३५ र डाइबिटिजसहितका गरी ४० प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने भनिएकोमा अति आवश्यक औषधिको अभाव छ ।

सरकारले तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय हुँदा पर्याप्त र आवश्यक औषधि नियमित पठाएकोमा हाल ४० प्रकारको औषधि उपलब्ध गर्ने भनेर घोषणा गरेको भएपनि नियमित नपठाउँदा अभाव रहेको बबिया स्वास्थ्य चौकीका सन्तोष मेहताले जानकारी दिनुभयो ।

सेवाग्राही शान्ती शर्माले गाउँको स्वास्थ्य चौकी नगरपालिकामा परिणत भएको तर बबिया स्वास्थ्य चौकीमा औषधि अभाव कायम रहेको गुनासो गर्नुभयो ।

इनरूवा नगरपालिकाकाका नगर प्रमुख राजन मेहताले औषधि अभाव नभएको बताउनुभयो । उहाँले खरिद प्रक्रिया कारणले केही स्वास्थ्य संस्थामा केही औषधि अभाव भएको बारेमा आफू जानकार भएको बताउनुभयो । नगर प्रमुख मेहताले दुई तीन दिनमा स्वास्थ्य संस्थाको निशुल्क वितरण हुने औषधी अभाव नहुने बताउनुभयो ।

 


जयकृष्ण यादव