औषधिको अभावका सम्बन्धमा मानव अधिकार आयोगको चासो

  ०७३ भदौ १३ गते

बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाएको छ ।

आयोगका नेपालगञ्जस्थित कार्यालय प्रमुख मुरारीप्रसाद खरेलले भदौ ७ गते जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुखलाई औषधि अभावका सम्बन्धमा लिखित जवाफ पेश गर्न अनुरोध गरेका थिए ।

औषधि अभावका कारण सेवाग्राहीले गुणस्तरीय स्वस्थ्य सेवा नपाएको विषयमा आयोगमा जानकारी आएको भन्दै आयोगका कार्यालय प्रमुख खरेलले जिल्ला जनस्वास्थ्य कार्यालयसँग औषधि अभावको अवस्था के कस्तो छ ? निशुल्क वितरण गरिने औषधि कार्यालयमा कति मौज्दात रहेको छ जवाफ माग गरेको आयोगले जनाएको छ ।

औषधि अभावका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको पत्र आएको जनाउँदै जनस्वास्थ्य प्रमुख विनोदकुमार गिरीले छिट्टै लिखित जवाफ पठाउने बताए । आफू जिल्ला बाहिर भएकोले यस विषयमा विस्तृत रूपमा बुझन नपाएको र समयमा जवाफ पठाउन नपाएको बताए ।

आयोगले विभिन्न जिल्लामा हाल रहेको औषधि अभाव निराकरण गर्न त्यस कार्यालयबाट के कति कार्यहरू भएका छन् तथा भविष्यमा औषधि अभाव हुन नदिनका लागि आगामी योजना के रहेका छन् लगायतका विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयसँग जवाफ माग गरेको आयोगका क्षेत्रीय कार्यालय प्रमुख मुरारी खरेलले बताए ।

पछिल्लो समयमा देशव्यापी रूपमा औषधिको अभाव भएको विषयमा क्षेत्रीय कार्यालयले केन्द्रीय कार्यालयलाई जानकारी गराएपछि आयोगको केन्द्रीय कार्यालयले भदौ १२ गते आयोगका सबै क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयलाई औषधिको उपलब्धता सम्बन्धमा बुझि जानकारी गराउन निर्देशनात्मक अनुरोध गरेको आयोगले जनाएको छ ।

Photo20160829Banke


इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज