ओपिडी सेवा अनिश्चित हुँदा स्वास्थ्य सेवाग्राही सेवाबाट वञ्चित

  ०७७ जेठ ४ गते

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा ओपिडी (बहिरङ्ग सेवा) करिब दुई महिनायता बन्द हुँदा स्वास्थ्य सेवाग्राही सेवाबाट वञ्चित हुनु परेको छ ।

कोरोना भाइरसको जोखिम र नियन्त्रणका लागि प्रतिष्ठानले ०७६ चैत ११ गतेदेखि बन्द गरेको ओपिडी सेवा सुचारू नहुँदा स्वास्थ्य सेवाग्राही सेवाबाट वञ्चित हुनु परेको हो ।

सेवा सुचारू गर्ने सम्बन्धमा प्रतिष्ठान व्यवस्थापन तथा सञ्चालक समितिले दुई पटक छलफल र सम्वाद गरेपनि निकास निस्कन नसकेको प्रतिष्ठानका सह–प्रवक्ता डा.अशोक ऐरले जानकारी दिनुभयो ।

प्रतिष्ठानले अनिश्चित समयका लागि ओपिडी सेवा बन्द गर्दा दैनिक सयौँको सङ्ख्या बिरामी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको डा. ऐरले बताउनुभयो ।

प्रदेश सरकारले प्रतिष्ठानमा कोरोना भाइरसको पीसीआर(पोलिमर चेञ्ज रियाक्सन) ल्याब स्थापना गरेपछि प्रतिष्ठानमा ओपिडी सेवा बन्द गरिएको छ । प्रतिष्ठानमा हाल एक सय वेडको आइसोलेशन वार्ड निर्माण गरी कोरोना भाइरससम्बन्धी स्वास्थ्य सेवा सञ्चालित छ ।

ओपिडी सेवा सुचारू गर्दा बिरामीको प्रतिष्ठानमा चाप बढ्ने र यसबाट झन् जोखिम हुन सक्ने भएकाले केही समयका लागि ओपिडी सेवा बन्द गरिएको अस्पताल प्रशासनको भनाइ छ ।

नेपालको संविधान,२०७२ ले धारा ३५ मा स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।

संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा व्याख्या गरेपनि प्रतिष्ठानले ओपिडी सेवा बन्द गर्दा दैनिक सयौँ जना बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।


जयकृष्ण यादव