ऐनमा व्यवस्था भएपनि सार्वजनिक यातायातमा छुट नदिएको ज्येष्ठ नागरिकको गुनासो

  ०७६ असोज २८ गते

सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट र दुई ओटा सिट छुट्टयाए पनि  त्यो सुविधा पाउन नसकेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।

असोज २८ गते प्रदेश १, सामाजिक विकास मन्त्रालयले गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिकले सुविधा पाउने होइन उल्टै अपमानित हुनुपरेको गुनासो गरेका हुन् ।

सुन्दरहरैँचा नगरपालिकाका ज्येष्ठ नागरिक नारायणप्रसाद चुडालले ज्येष्ठ नागरिक देखे गाडी नै नरोक्ने र चढी हालेपनि गालीगलौजसहित दुर्व्यवहार सहनु परेको बताए ।

ज्येष्ठ नागरिक चुडालले भने–‘गोजीमा कार्ड बोकेर पुरै भाडा तिरेर हिड्ने गरेको छु । कार्ड देखाए छुट होइन अपमान पाइन्छ ।’ राज्यले ज्येष्ठ नागरिक ऐन २०६३ मा यो छुटको व्यवस्था गरेको छ ।

छलफलमा सहभागी ज्येष्ठ नागरिकहरूले सामाजिक विकास मन्त्री जीवन घिमिरेले राज्यले कानुन बनाउने तर कार्यन्वयन गर्न नसक्ने भएकाले ज्येष्ठ नागरिक अधिकारबाट वञ्चित भएको बताए ।

विराटनगर महानगरपालिका–१२ का ज्येष्ठ नागरिक कृष्ण भण्डारीले सार्वजनिक यातायातमा सुविधा माग्दा अपमानित हुनु परेको बताए ।

हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजका अध्यक्ष जीवेन्द्र घिमिरेले आफू पनि सुविधा माग्दा पटकपटक समस्यामा परेको बताए ।

ज्येष्ठ नागरिक घिमिरेले कानुन मान्दिन भन्ने यातायात व्यवसायीहरूलाई राज्यले कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष कृष्ण सुवेदीले सार्वजनिक बसहरूले ज्येष्ठ नागरिकका लागि दुई सिट छुट्टयाएको र ५० प्रतिशत छुट पनि उनीहरूलाइ नै दिने तर अरूलाई नदिने बताए ।

अर्का यातायात व्यवसायी ध्रुवराज घिमिरेले सरकारले यातायात व्यवसायीका कानुनी झञ्झट र समस्या हल गरेर सुविधा कार्यान्वयन गर्ने विषयमा जानुपर्ने बताए ।

उनले विराटनगरबाट काकडभिट्टा जाँदा बाटोमा पर्ने हरेक स्थानीय तहलाई कर तिर्दा– तिर्दा व्यवसायी हैरान भएकोले छुट दिने कुरामा हिच्किचाउने गरेको बताए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी भिम दाहालले चालू महिनामा मात्र यातायात क्षेत्रमा ज्येष्ठ नागरिकमाथि भएका पाँच ओटा दुर्व्यवहारका घटनाको उजुरी आएको बताए ।

एसपी दहालले बनेको कानुन मान्दिन भन्न कसैले छुट नपाउने र छुटसहित ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यातायातमा ज्येष्ठ नागरिकलाई सुविधा नदिने र अपमान गरे अनुगमन गरेर कारवाही गरिने बताए ।


इन्दिरा भट्टराई