एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन ९ गते

ओखलढुङ्गा घर भई काठमाडौँको सितापाइला बस्दै आएकी २२ वर्षीया पवित्रा कार्कीलाई साउन ८ गते साँझ एसिड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

घरबाट दही किन्न पसल गएर फर्किने क्रममा कार्कीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला लक्ष्मीपुर नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्दै आएका ४७ वर्षीय मोहमम्द आलम र भारतको विहार घर भई सोही ठाउँ बस्दै आएका २३ वर्षीय फौयाज आलमलाई गिरफ्तार गरेको जनाएको छ ।

आरोपित दुवैलाई प्रहरीले साउन ८ गते राती काठमाडौँको डल्लुबाट गिरफ्तार गरेको हो । प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलन गरी साउन ९ गते उनीहरूलाई सार्वजनिक गरेको छ ।

मोहम्द आलमले आफूसँग प्रेम नगरेको र अर्कै पुरुषलाई कार्कीले मन पराउन थालेको शङ्कामा आफ्नो कवाडी पसलमा काम गर्ने फौयाजलाई एसिड प्रहार गर्न लगाएको खुल्न आएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पीडितको एसिडबाट दाहिने गाला र गर्दन पोलिएकोले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।


विमला पौडेल