एसपीद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

  ०७५ मङ्सिर ६ गते

च्वाइस एफ एम गोरखाका स्टेशन म्यानेजर एवम् उज्यालो रेडियो नेटवर्कका गोरखा जिल्ला सम्वादाता नुवाकोट जिल्ला वेलकोटगढी नपा–१३ मदानपुर घर भइ गोरखा कार्यक्षेत्र भई काम गर्ने ३४ वर्षीय किरण लोहनीलाई जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी विमल वस्नेतले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् ।

मङ्सिर ४ गते पालुङटार नपा–८ च्याङलीमा भएको कार्यक्रममा समाचार सङ्कलनका लागि पुगेका लोहनीलाई सोही कार्यक्रममा भाग लिन गएका एसपी बस्नेतले असम्बन्धित समाचारको विषयलाई लिएर अपमानजनक व्यवहार गरेको पत्रकार लोहनीको आरोप छ ।

‘एउटा अनलाइनमा आएको समाचार तपाइँले लेखाएको हो । जिम्मा लिनुपर्छ भनेर दबाब दिए । जुन समाचार मसँग असम्बन्धित छ ।’–लोहनीले भने–‘समाचार खण्डन गर्ने विधि अपनाउनुको सट्टा असम्बन्धित व्यक्तिलाई अपमानजनक तवरले उहाँ प्रस्तुत हुनुभयो । मविरूद्ध लाग्नुभएको छ । सकेको गर्नुस् भन्नुभयो ।’

आफू आबद्ध नभएको अनलाइनमा प्रकाशित समाचारको जिम्मा लिन बाध्य बनाउन खोजिएको लोहनीको भनाइ छ । एसपी बस्नेतले भने आफूले ख्यालठट्टामा भनेको कुरालाई लोहनीले ‘इष्यू’ बनाएको बताए ।


हरिराम उप्रेती