एम्बुलेन्स सेवा व्यवस्थित गर्न सरोकारवालाको ध्यानाकर्षण

  ०७६ फागुन २२ गते

जिल्लाका स्थानीय तहमा एम्बुलेन्स खरिदको होडबाजी चलेको छ । तर, एम्बुलेन्स सेवा व्यवस्थित नुहँदा सरोकारवालहरूको ध्यानाकर्षण भएको छ।

जिल्लामा रहेका सबै स्थानीय तहले एम्बुलेन्स खरिद गरेका छन् तर एम्बुलेन्स सेवा अव्यवस्थित भएपछि व्यवस्थित गर्न स्थानीय तहको सरकारले समेत चासो देखाएको छ । ‘डिस्प्याच सेन्टर’ स्थापना गरेर सेवालाई प्रभावकारी बनाउने विषयमा स्थानीय तहहरू प्रतिबद्ध भएका हुन् ।

स्थानीय तहको लगानीमा जिल्लामा नेपाल रेडक्रस सोसाईटीले १९ ओटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।  सिन्धुली अस्पताल, विभिन्न प्रतिष्ठान गरि जिल्लामा २६ ओटा एम्बुलेन्स सञ्चालनमा छन । कमलामाई नगरपालिकाले थप तीन ओटा एम्बेलेन्स खरिदका लागि बजेट विनियोजन गरेको छ । गत वर्ष तीन ओटा एम्बुलेन्स खरिद गरेको थियो । यस्तै दुधौली नगरपालिकाले दुई ओटा थप गर्ने योजनामा छ ।

Photo20200305Sindhuli

दुधौलीमा नौ ओटा एम्बुलेन्स सञ्चालनमै छन् । मरिण गाउँपालिकाले गत वर्ष तीन ओटा खरिद गरेको थियो भने चालु वर्षमा १ ओटा खरिद गर्ने योजनामा छ । यस्तै सुनकोशी गाउँपालिकाले एक ओटा एम्बुलेन्स थप्ने योजना बनाएको छ । सुनकोशीका सात ओटै वडामा एम्बुलेन्स सुविधा छ । यस्तै फिक्कल गाउँपालिकामा अघिल्लो वर्ष एक ओटा खरिद गरेकोमा यस वर्ष थप एक ओटा एम्बुलेन्स खरिद गर्ने योजना बनाएको छ । घ्याङलेख गाउँपालिकाले एक ओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

जिल्लाभर स्थानीय तहमार्फत एम्बुलेन्स खरिद र सञ्चालन भए पनि समयमा एम्बुलेन्स सुविधा पाउन नसकेको गुनासो सरोकारवालाकै रहेको छ । जिल्लामा प्रयाप्त एम्बुलेन्स भए पनि दुर्घटनामा परेका बिरामी लिन वा आपतकालीन अवस्थामा सेवा दिन सक्ने अवस्थामा फेला पार्न भने कठिन हुने गरेको पाइएको छ । सिन्धुलीका एसपी रञ्जु सिग्देलका अनुसार जिल्लामा रहेका राजमार्गमा दैनिक जसो दुर्घटना हुने र सबै प्रहरी ईकाईमा सवारी साधन समेत नभएको अवस्थामा घाइतेहरूलाई ट्याक्टर, मोटरसाईकल र अटोमा हालेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहेको रहेको छ । एसपी सिग्देलले जिल्लामा मृत शव व्यवस्थापनमा समेत कठिनाई रहेको बताउनु भयो । उहाँले एकीकृत सेवाका लागि जिल्लामा एम्बुलेन्सका लागि प्रहरीको जस्तै कन्ट्रोल सिस्टमको आवश्यकता रहेको बताउनु भयो ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा एम्बुलेन्स भन्सार छुटका लागि सिफारिस माग्न समितिमा आउने तर एम्बुलेन्सको व्यवस्थापन, सञ्चालनका विषयमा जानकारी नै नहुने हुँदा समस्या रहेको बताउनु भयो । उहाँले जिल्लामा सञ्चालित एम्बुलेन्सले समितिबाट सञ्चालन अनुमति समेत नलिने र व्यवस्थित र मर्यादित सेवा दिन नसकेको बताउनु भयो । उहाँका अनुसार जिल्लाका एम्बुलेन्समा अस्पताल पुग्नु पूर्वको उपचारका सुविधा बिरामीले पाउन सकेका छैनन् । एम्बुलेन्स मानवीय संवेदनशिलतालाई भन्दा पनि नाफाको व्यापार गर्नमा तल्लिन रहेकाले पनि यसको नियमन र कारबाही हुन आवश्यक रहेको गौतमले बताउनु भयाे ।

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले सिन्धुली अस्पताललाई केन्द्र बनाएर चल्ने प्रतिष्ठानका नामका नीजि एम्बुलेन्सले अस्पतालकै बेईज्जत गर्ने गरेको बताउनु भयो । उहाँका अनुसार एम्बुलेन्सका कारण समस्या सृजना भएकाले सेवा प्रभावकारी बनाउन जिपिएस प्रणाली जोड्ने तयारी भईरहेको छ । उहाँले जिल्लाका एम्बुलेन्सको सेवा प्रभावकारी बनाउन सिन्धुली अस्पताललाई केन्द्रीत गरि सबै स्थानीय सरकारको समन्वयमा डिस्प्याच सेन्टर स्थापना गर्न सहकार्यका लागि अस्पताल तयार रहेको बताउनु भयो ।

यसैबीच जिल्लामा रहेका एम्बुलेन्सहरूलाई एकीकृत गरि जिपिएस प्रणाली मार्फत सञ्चालन तथा व्यवस्थापन गर्नका लागि डिस्प्याच सेन्टरको स्थापना गर्ने विषयमा फागुन २१ गते सिन्धुलीमाढीमा छलफल गरिएको छ । दुर्घटनाका घाइते तथा विरामीहरूलाई अस्पताल पुर्‍याउनु पूर्व गरिने उपचारलाई प्रभावकारी बनाउने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने उद्देश्यले छलफल गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको आयोजना, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको सहयोग तथा स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा छलफलको आयोजना गरिएको थियो छलफलमा सहभागीहरूले सिन्धुली जिल्ला तीन ओटा राष्ट्रिय राजमार्गले जोडिएको र दुर्घटना हुने दर बढीरहेकाले जिल्लामा डिस्प्याच सेन्टर आवश्यक रहेको बताए । एम्बुलेन्स व्यवस्थापन र मानवीय क्षतीलाई कम गर्नका लागि सबै स्थानीय तहका प्रमुखहरूले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

छलफलका क्रममा कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्की, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन आफ्नो स्थानीय तह मातहतमा रहेका एम्बुलेन्सको सेवा सुविधा वृद्धि गरि ख श्रेणीको सुविधा व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

यस्तै थप एम्बुलेन्स खरिद गर्दा नेपाल सरकारको मापदण्ड अनुसार ख श्रेणीको एम्बुलेन्स खरिद गर्ने समेत स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको प्रतिवद्धता रहेको छ । अन्य तीन ओटा पालिकाहरू तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले समेत कार्यपालिकाको बैठक र आगामी कार्ययोजना बनाउँदा डिस्प्याच सेन्टरका बारेमा ध्यान दिईने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीले जिल्लाका सबै स्थानीय तहलाई डिस्प्याच सेन्टर स्थापनाका लागि जुट्न आग्रह गर्नुभयो ।


बिमला पाण्डे