एम्बुलेन्स सेवाको व्यवस्था नहुँदा बिरामीलाई समस्या

  ०७६ साउन २५ गते

जिल्लाका ६ ओटा स्थानीय तहमा एम्बुलेन्स नहुँदा यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरूले समस्या भोग्नुपरेको छ ।

नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको हो ।

जिल्ला सदरमुकाममा रहेको जिल्ला अस्पतालसम्म पुग्न पनि स्थानीयतहबाट लामो दुरी रहेकाले स्थानीय सरकारसँग एम्बुलेन्सको माग गरेको छेडागाड नगरपालिकाका स्थानीय नरबहादुर खत्रीले बताए ।

नगरपालिकाका सबै स्थानहरूमा सडक विस्तार भइसकेको भएपनि एम्बुलेन्सको व्यवस्था नभएका कारण बिरामीले समयमा उपचार नपाएर ज्यान जोखिममा जाने अवस्था रहेको खत्रीले दुखेसो पोखे ।

नगरपालिकाले एम्बुलेन्स खरिद गर्नका लागि गत वर्षकै नगरसभाबाट निर्णय गरिसकेर एम्बुलेन्स खरिदका लागि कोटेशन माग गरेकामा प्रक्रिया पुरा हुन नसकेको भन्दै केही समय रोकिएको र आगामी केही महिना भित्रैमा एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झलक केसीले बताए ।

त्यसैगरी शिवालय गाउँपालिकाबाट एम्बुलेन्सको आवश्यकतालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्नका लागि निर्णय गरिसकेको र यस आर्थिक वर्षमा प्रक्रिया पुरा गरी एम्बुलेन्स ल्याउने तयारीमा रहेको कुशे गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले बताए ।

गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग एम्बुलेन्स खरिद गर्नका लागि आग्रह गरेको कुशे गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बताए ।

जुनिचाँदे गाउँपालिकाका सबै स्थानहरूमा सडक सञ्जाल विस्तार भइनसकेको हुँदा सबै क्षेत्रमा सडक सञ्जाल विस्तार गरेर मात्रै एम्बुलेन्स खरिद गर्ने गाउँपालिका अध्यक्ष कृष्ण केसीले बताए ।

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा गम्भीर बिरामी तथा दुर्घटनाका घाइतेहरूले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।

एम्बुलेन्स सुविधा नहुँदा जिल्लाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाँदा अझैपनि बोक्नुपर्ने बाध्यता रहेको छ ।


दिनेशकुमार श्रेष्ठ