एम्बुलेन्स नहुँदा बिरामी बोक्नै सास्ती

  ०७६ कात्तिक २१ गते

दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुला जिल्लाका अधिकांश स्थानीय तहमा एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामी र घाइते बोक्न यस क्षेत्रका स्थानीयलाई सास्ती हुने गरेको छ ।

जिल्लाभरी ८० ओटा स्वास्थ्य संस्था रहेपनि जिल्लामा तीन ओटा मात्रै एम्बुलेन्स सञ्चालन हुँदा बिरामीलाई अस्पताल लैजान तथा घरसम्म पुर्‍याउन समस्या हुने गरेको हो ।

मालिकार्जुन गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकामा एम्बुलेन्स छैन ।

यस क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल र सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन समस्या हुने गरेको स्थानीयले दुखेसो पोखेका छन् ।

महाकाली नगरपालिका रहेको जिल्ला सदरमुकामस्थित जिल्ला अस्पताल खलङ्गा, गोकुलेश्वर अस्पताल र मार्मा गाउँपालिकामा रहेको एम्बुलेन्स मात्रै हाल सञ्चालनमा रहेका कारण सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहमा एम्बुलेन्स सेवा दिन समस्या भएको दुहुँ स्वास्थ्य चौकीका इञ्चार्ज प्रेमसिंह धामीले बताए ।

उनले भने–‘दुहुँमा मात्र एम्बुलेन्स भए व्यास र दुहुँ गाउँपालिका समेटिन्छ । यस क्षेत्रमा सडक समेत पुगेको छ । दार्चुला तिङ्कर सडक निर्माण भएको हुँदा यस क्षेत्रमा एम्बुलेन्स सञ्चाल गर्न सके बिरामीलाई सहज हुने छ ।’

दुहुँ स्वास्थ्य चौकीलाई सुदूरपश्चिम प्रदेश सरकारमार्फत एम्बुलेन्स दिने बताइएको भएपनि पछिल्लो समय जिल्ला अस्पताललाई नै एम्बुलेन्स दिने खबरपछि स्थानीयमा निराशा छाएको छ ।

सडक पुगेको तथा सुदूरपश्चिममै उत्कृष्ट सेवा दिँदै आएको स्वास्थ्य संस्थालाई समेत एम्बुलेन्स नहुँदा बिरामीले स्टेचरको भर पर्नुको विकल्प नरहेको दुहुँ स्वास्थ्य चौकीका इञ्चार्ज धामी बताउँछन् ।

अधिकांश स्थानहरूमा सडक विस्तार भइसकेको भए पनि एम्बुलेन्सको व्यवस्था नगरिदिएका कारण समयैमा उपचार नपाएर अकालमै ज्यान गुमानुपर्ने अवस्था समेत रहेको छ ।

स्थानीय तहहरूले डोजर र गाडी खरिदमा लगानी गरेपनि स्थानीयलाई अत्यावश्यक पर्ने एम्बुलेन्स तथा शव बाहनको लागि बजेट विनियोजन गरेका छैनन् ।

मालिकार्जुन गाउँपालिकामा सडक सञ्जालले छोए पनि एम्बुलेन्स नहुँदा बिरामी हुँदा प्राइभेट जीपहरू महङ्गोेमा रिजर्भ गर्नु पर्ने बाध्यता रहेको मालिकार्जुनका स्थानीय हिरासिंह धामीले दुखोसो पोखे ।

मालिकार्जुन गाउँपालिकामा सांसद विकास कोषमार्फत तीन वर्षअघि नै एम्बुलेन्स खरिद गरिएको भएपनि मर्मत हुन सकेको छैन । बिग्रिएको एम्बुलेन्स मर्मत नगरिकनै थन्क्याइएको छ ।

शैल्यशिखरस्थित गोकुलेश्वर अस्पतालको एम्बुलेन्स मात्रै नियमित सञ्चालनमा रहेको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा उप संयोजक गणेशसिंह बोहराले जानकारी दिए ।

उनले भने–‘यस क्षेत्रमा भुपु सैनिक सङ्घको एम्बुलेन्स पनि छ । गोकुलेश्वरमा शाखा रहेको भुपु सैनिकको एम्बुलेन्स लामो समयदेखि शैल्यशिखरको ग्वानीमा थन्क्याइएको छ । अस्पतालको एम्बुलेन्स आएदेखि भुपु सैनिक सङ्घमार्फत सञ्चालन भएको एम्बुलेन्स पनि सञ्चालनमा आएको भए सहज हुन्थ्यो ।’

मार्मा गाउँपालिकामा सांसद विकास कोषमार्फत खरिद गरिएको एम्बुलेन्स चलेको छ । तर, ती बाहेकका अन्य स्थानीय तहमा भने बिरामी बोक्न अहिले पनि डोको र स्टेचरको विकल्प छैन ।

सडक पुगेका स्थानीय तहहरूले एम्बुलेन्स प्राथमिकतामा नराख्दा बिरामीले समयमै उपचार पाउन समस्या भएको छ ।

लेकम गाउँपालिका, अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा भने तत्काल नै एम्बुलेन्स सञ्चालनको लागि सडक सुविधा छैन । यस क्षेत्रका स्थानीय अहिले पनि स्टेचरमै बोकेर बिरामीलाई स्वास्थ्य संस्थामा लैजानुपर्ने बाध्यता छ ।

अहिले पनि लेकम गाउँपालिकाका स्थानीय बिरामी हुँदा स्टेचरमै बोकेर भारतीय बजारसम्म पुर्‍याउनु पर्ने बाध्यता रहेको स्थानीय शेरबहादुर विष्टले बताए ।

उनले भने–‘जिल्ला अस्पतालमा बिरामी पुर्‍याउनु भन्दा भारतीय बजारका मेडिकलमा पुर्‍याउन सजिलो र चाँडो हुन्छ ।’

दार्चुला जिल्ला अस्पतालमा रहेको एक मात्रै पुरानो एम्बुलेन्सले अहिले दैनिक जसो जिल्ला अस्पतालबाट रेफर गरिएका बिरामीलाई तराईसम्म लैजानु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख गजेन्द्र दुवालले बताए ।

उनले भने–‘एउटै एम्बुलेन्सको भरमा चार–पाँच ओटा स्थानीय तहका बिमारीहरूलाई सेवा दिनुपर्छ । कहिलेकँही धेरै ठाउँबाट एम्बुलेन्सको माग हुन्छ । तर, बिरामीको प्रकृति हेरर पठाउनु पर्ने बाध्यता रहेको छ ।’

हाल जिल्लामा दुई ओटा अस्पताल, ४१ ओटा स्वास्थ्य चौकी, १२ ओटा नगर स्वास्थ्य एकाई र २४ ओटा सामुदायिक स्वास्थ्य एकाई सञ्चालनमा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


नरेन्द्रसिंह कार्की