एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या

  ०७६ साउन २२ गते

जिल्लाका चार ओटा स्थानीय तहमा एम्बुलेन्स नहुँदा त्यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरूले समस्या भोग्नु परेको छ ।

आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, अजयमेरू गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा एम्बुलेन्स नहुँदा यहाँका विरामीलाई अस्पताल लैजान समस्या हुने गरेको हो ।

जिल्ला सदरमुकामस्थित अस्पतालसम्म पुग्न पनि धेरै दुरी रहेकाले स्थानीय सरकारसँग एम्बुलेन्सको माग गरेको आलिताल गाउँपालिकाका स्थानीय भक्तगाहा मगरले बताए ।

गाउँपालिकाका सबै स्थानहरूमा सडक विस्तार भइसकेको भए पनि गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था नगरिदिएका कारण समयैमा उपचार नपाएर अकालमै ज्यान गुमानु पर्ने अवस्था समेत रहेको मगरले दुखेसो पोखे ।

गाउँपालिकाले एम्बुलेन्स खरिद गर्नका लागि कार्यपालिकाबाट निर्णय भइसकेको र केही महिना भित्रै एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरूङले बताए ।

अजयमेरू गाउँपालिकाले एम्बुलेन्सका लागि टेण्डर भइसकेको र अबको केही दिन भित्रै एम्बुलेन्स आइपुग्ने गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।

गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग एम्बुलेन्स खरिद गर्नका लागि आग्रह गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नबल मल्लले बताए ।

भागेश्वर गाउँपालिकाका सबै स्थानहरूमा सडक सञ्जाल विस्तार भइनसकेको र सबै क्षेत्रमा सडक सञ्जाल विस्तार गरी एम्बुलेन्स खरिद गर्ने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताए ।

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा जटिल बिरामी तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।

एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरीकहरू बिरामीलाई स्वास्थ्य संस्था तथा अस्पताल लौजानका लागि अझै पनि बोकेर लैजानु पर्ने बाध्यता रहेको छ ।


भुपेन्द्र बिष्ट