एम्बुलेन्स चालक कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १९ गते

खाँदबारी नगरपालिका–९ का २८ वर्षीय एम्बुलेन्स चालक योगेन्द्र घलेलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

बा १९ च ९६८६ नम्बरको एम्बुलेन्समा विराटनगर बिरामी लगि सङ्खुवासभा फर्कदै गरेका घलेलाई जेठ १८ गते कुटपिट गरेको आरोपमा प्रहरीले जिल्ला धनकुटा महालक्ष्मी नगरपालिका–६ का सन्तोष कार्की र विवेक ढकाललाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

आरोपितद्वयले जेठ १८ गते धनुकटामा एम्बुलेन्स रोकी सवारी पास माग्दै केरकार गरेको र कागजपत्र देखाएपछि आफ्नो ठाँउमा एम्बुलेन्स चलाउन छुट छैन भन्दै कुटपिट गरेको पीडित चालक योगेन्द्र घलेले बताउनुभयो ।

एम्बुलेन्स चालकले कुटपिट गरेको बारेमा प्रहरी चौकी लेगुवामा जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको असई तर्कबहादुर अधिकारीले बताउनुभयो ।

घटनाका आरोपितद्वयले जेठ १९ गते प्रहरी चौकी लेगुवामा माफी माग्दै आगामी दिनमा यस्तो कार्य नगर्ने लिखित सहमति गरेको एम्बुलेन्स चालक सङ्घ सङ्खुवासभा अध्यक्ष भक्तबहादुर राईले बताउनुभयो ।


भविन कार्की