एम्बुलेन्सको अभावमा ट्याक्टर मै बच्चा जन्माउन बाध्य !

  ०७६ पुस १० गते

सरकारले शुन्य होम डेलिभरी नारा अगाडि सार्दै लक्षित कृयाकलापहरू विस्तार गरिरहेको बेला विजयनगर गाउँपालिकाकी एक महिलाले एम्बुलेन्स अभावका कारण ट्याक्टरमै बच्चा जन्माउनुभएको छ ।

गाउँपालिकामा एम्बुलेन्स छैन जसले गर्दा गर्भवति महिलाहरू घर तथा सडकमा नै सुत्केरी हुन बाध्य छन् ।

विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोरी गर्भवति भएको नौ महिना पुगेको थियो । उहाँलाई सुत्केरी ब्यथाले च्याप्यो । परिवारले एम्बुलेन्स, गाडी खोजेर छिटो अस्पताल लैजाने तयारी गरे तर एम्बुलेन्स र गाडी कतै नपाएपछि घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्याक्टरमा उर्मिलालाई राखेर चन्द्रौटा तर्फ लगियो ।

ट्याक्टरमा उफार्दै करिब १५ किलोमिटरको दुरी पार गरेपछि बिचबाटोमा ट्याक्टरमा नै उहाँले बच्चा जन्माउनु भयो । ट्याक्टरमै बुहारी उर्मिलासँग आउनु भएकी सासू कमलावतीले गाउमा एम्बुलेन्स नपाउँदा बुहारीलाई ट्याक्टरमा ल्याउन बाध्य भएको बताउनु भयो ।

‘बुहारीलाई बिहान बेस्सरी सुत्केरी ब्यथाले च्याप्यो । एम्बुलेन्स नपाएपछि घरकै ट्याक्टरमा चन्द्रौटामा रहेको अस्पतालमा लाँदै थियौँ । बाटोमै बच्चा जन्मियो ।’–उहाँले भन्नुभयो–‘शीतलहरको जाडो र ट्याक्टरले हल्लाउँदा बुहारीलाई निकै पीडा भएको थियो । भगवानको कृपाले बुहारी र नातिलाई नराम्रो केही भएन ।’

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकोले सुत्केरी गराउन शिवराज नगरपालिका चन्द्रौटामा ल्याउनु परेको हो ।

विजयनगर गाउँपालिकामा हालसम्म एम्बुलेन्स छैनन् । उर्मिलाका ससुरा कलम कोरीले गाउँपालिकामा हालसम्म एम्बुलेन्स र गतिलो स्वास्थ्य केन्द्र नहुँदा बुहारी जस्तै अरू पनि जोखिमपुर्ण रूपमा घरमा नै बच्चा जन्माउन बाध्य छन् ।

गाउँपालिका प्र्रमुख गोपालबहादुर थापाले प्रकृया नमिल्दा अहिलेसम्म एम्बुलेन्स किन्न नसकिएको बताउनु भयो ।

उहाँले यस वर्ष नै एम्बुलेन्स खरिद गर्ने बताउँदै एम्बुलेन्स खरिद गर्र्न १५ लाख रुपियाँ बजेट बिनियोजन गरिएको बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अझै ५३ प्रतिशत प्र्रसूति घरमै हुने गरेको छ । जिल्लामा २७ प्रसूति केन्द्र छन् ।

photo20191226kapilvastu1

photo20191226kapilvastu2


पार्बती आचार्य