एमाले उम्मेदवारको घर अगाडि विष्फोट

  ०७४ भदौ २१ गते

लहान नगरपालिकामा एमालेको तर्फबाट सिफारिस मेयरका उम्मेदवार मुनि साहको घर अगाडि भदौ २० गते साँझ साँढे सात बजे विष्फोटक पदार्थ विष्फोट भएको छ ।

प्रचारको काम सकेर घरमा आइपुगे लगत्तै विष्फोटको आवाज आएको साहले बताए । प्लाष्टिकको डिब्बामा राखेर विष्फोट गराए पनि भौतिक तथा मानवीय क्षति नभएको साहले बताए । उनले भने-'क्षति नभएपनि आतङ्कित पार्ने काम भएको छ ।'

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले विष्फोटक पदार्थ पड्किएको जानकारी हुनासाथ घटनास्थलमा प्रहरी परिचालन गरेको बताए । विष्फोटक पदार्थ कसले र किन विष्फोट गराएको हो सो खुलिनसकेको जानकारी दिँदै पाण्डेले घटनाको अनुसन्धान जारी रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग जनकपुर र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको संयुक्त टोलीले भदौ २१ गते विष्फोटको घटनाको अनुगमन सुरू गरेको छ ।


दुर्गा परियार