एमाले अध्यक्ष ओली र काङ्ग्रेस जिल्ला सभापति थापाको घरमा बम विष्फोट

  ०७४ मङ्सिर ९ गते

दमक नपा-५ स्थित एमाले अध्यक्ष केपी ओलीको घर र अर्जुनधारा नपा-७ स्थित नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापाको घर तथा गाडीमा अज्ञात समूहले मङ्सिर ९ गते बम विष्फोटन गराएको छ ।

Photo20171125Jhapa

अध्यक्ष ओलीको घर अगाडी गेटमा बिहान करिब ४ बजे एउटा बम विष्फोटन गराएको र अर्को बम गेटमै छोडेर गएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार दुवै बम आईइडी भएको र गेटमा रहेको बम बिहान ७ बजे सेनाको २१ नं बाहिनीको बम डिस्पोजल टोलीले डिस्पोज गराइएको छ । उक्त घरमा हाल दमक नपाका मेयर रोमनाथ ओली बस्ने गर्दछन् । एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।

मध्यराति करिब साढे १२ बजे अर्जुनधारा नपा-७ स्थित नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा झापा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार उद्धव थापाको घर कम्पाउण्डमा रहेको गाडी ग्यारेजमा अज्ञात समूहले बम विष्फोटन गराएको छ ।

विष्फोटमा परी उनको बा ७ च ६८९५ नं को बोलेरो जीपको अगाडितर्फ वोनटको भाग र सिसा फुटेर क्षतिग्रस्त भएको छ ।

अज्ञात समूहले विस्फोटक पदार्थ गाडी माथि विष्फोटन गराएको र गाडीको अगाडीको भाग क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

दुवै स्थानमा भएका विष्फोटनका घटनाको अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पनि गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ ।


अर्जुन बस्नेत