एमालेबाट मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

  ०७४ असार १२ गते

स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार ५२ वर्षीय तारा सुब्बाको घरमा असार १२ गते बिहान बम विष्फोट भएको छ ।

धरान उपमहानगरपालिका-११ मा रहेको सुब्बाको घरको कम्पाउण्ड भित्र सुतली बम विष्फोट भएको हो । दुईजनाको समूहले बम फालेर भागेको केही समयपछि नै विष्फोट भएको स्थानीयले बताएका छन् ।

विष्फोटबाट ठूलो आवाज आए पनि कुनै क्षति नभएको र बम कसले र किन फालेको भन्ने समेत एकीन हुन नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

त्यसैगरी माओवादी केन्द्रको तर्फबाट इटहरी उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार भिम सुवेदीको इटहरी उपमहानगरपालिका-८ स्थित घरमा पनि असार ११ गते साँझ शङ्कास्पद वस्तु भेटिएकोमा असार १२ गते बिहान नेपाली सेनाले उक्त वस्तु विष्फोटक पदार्थ नभएको एकीन गरेको थियो ।

इटहरी उपमहानगरपालिका-५ मा उम्मेदवारविरूद्ध लेखिएका पर्चा सामग्री बाँडदै हिँडेको आरोपमा भोजपुर घर भई हाल इटहरीमा बस्दै आएका २८ वर्षीय प्रताप राईलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले जानकारी दिए ।


शेखर ढकाल