एमालेको भेलामा ढुङ्गामुढा गरिएकामा आपत्ति

  ०७४ भदौ १३ गते

नेकपा (एमाले)ले धनुषाको जनकपुरमा आफ्नो जनसंगठनको भेला भइरहेका बेला केही उच्छृङ्खल व्यक्तिले ढुङ्गामुढासहित अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएको राससको समाचार बुलेटिनमा छ ।

जनसंगठनको प्रदेश नं २ स्तरीय भेला चलिरहेका बेला भदौ १३ गते पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित सचिव गोकर्ण विष्टलगायत सहभागी कार्यक्रममा अशान्ति मच्चाइनु निर्वाचन सम्पन्न हुन नदिने षड्यन्त्र भएको सो पार्टीको आरोप छ ।

एमालेका सचिव योगेश भट्टराईद्वारा भदौ १३ गते जारी विज्ञप्तिमा भनिएको छ-'कार्यक्रममा यथोचित शान्तिसुरक्षाको व्यवस्थापन गर्नुपर्ने संवेदनशीलताप्रति स्थानीय प्रशासन गम्भीर नहुनु आफैंमा दुःखद् कुरा हो । हाम्रो पार्टी यस्ता कुत्सित षड्यन्त्रप्रति सजग रहन प्रदेश नं २ का आम जनसमुदायलाई आह्वान गर्छ । हुलहुज्जत गर्ने अराजक जत्थालाई नियन्त्रण गरी कारबाही गर्न माग गर्दछ ।’

विज्ञप्तिमा सबैखाले अवरोधलाई चिर्दै उत्साह र एकताका साथ आगामी असोज २ मा हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टीका रूपमा स्थापित गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई आह्वान गरिएको छ ।


अनलाइन डेस्क