एभिन्यूजको वीरगन्जमा रहेको ब्यूरो कार्यालयमा तोडफोड

  ०७६ वैशाख ३० गते

एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालयमा नकावधारी समूहले वैशाख ३० गते तोडफोड गरेको छ ।

मुखमा कालोपट्टी बाँधेर आएका व्यक्तिहरूले कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।

तोडफोडबाट कार्यालयको बोर्ड, ढोका तथा झ्यालका सिसाहरू फुट्नुका साथै क्यामेरा पर्सन जाकिर हुसेनको क्यामेरामा समेत क्षति पुगेको एसपी ढकालले जानकारी दिए ।

समाजवादी पार्टी नेपालका पर्साका कार्यकर्ता तथा वीरगन्ज महानगरपालिका–१३ का वडा अध्यक्ष तुफान अन्सारी, विद्यार्थी नेता निखिल वरनवाल सहितका व्यक्तिहरूले कार्यालयमा तोडफोड गरेको एभिन्युज खबरका पर्सा संवाददाता हरिशङ्कर शर्माले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालयका एसपी ढकाल लगायतले घटनास्थलको निरीक्षण गरेका छन् ।

एभिन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रमका अतिथि उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कार्यक्रम सञ्चालक सुशील पाण्डेले गरेको व्यवहारको विरोधमा तोडफोड गरेको हुन सक्ने एभिन्यूजका केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताए ।

यसैबिच एभिन्युज टेलिभिजनको वीरगन्ज कार्यालयमा प्रतिशोधपूर्ण रूपमा गरिएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले निन्दा गरेको छ ।

‘लोकतान्त्रिक विधि र प्रक्रियाको बर्खिलाप हुने गरी हिंसायुक्त संस्कृतिलाई प्रश्रय दिने नियतका साथ गरिएको यस्तो कामको नेपाल पत्रकार महासङ्घ प्रदेश २ ले निन्दा गर्दछ ।’–महासचिव किरण कार्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रमाथि विश्वास राख्ने समाजवादी पार्टी नेपालका कार्यकतार्, त्यसमा पनि वीरगन्ज महानगरको वडा नं १३ मा निर्वाचित वडा अध्यक्षसहितको टोलीले सञ्चार संंस्थामा तोडफोड गरेर लोकतन्त्रप्रतिको आफनो आस्था नक्कली रहेको प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

photo20190514parsa (4)

photo20190514parsa (3)

photo20190514parsa (2)

photo20190514parsa (1)


केसी लामिछाने