एफएम रेडियो स्टेशन तोडफोडमा संलग्न आरोपित गिरफ्तार

  ०७७ असार २९ गते

चौतारा साँगाचोकगढी नपा–५ मा रहेको हेलम्बु एफएम रेडियोको स्टेशनमा तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा सोही ठाउँका २३ वर्षीय भोजबहादुर थापामगरलाई ०७७ असार २८ गते काठमाडौँको कोटेश्वरबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर रामचन्द्र घिमिरेले इन्सेक जिल्ला प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

इन्स्पेक्टर घिमिरेका अनुसार आरोपितले ०७७ असार १५ गते राति रेडियो स्टेशनमा तोडफोड गरी क्षति पु‍र्‍याएका थिए । रेडियो स्टेशन तोडफोड भएको कारण तीन दिनसम्म रेडियो बन्द भएको थियो ।

आरोपित विरुद्ध हेलम्बु एफएम रेडियोका स्टेशन प्रमुख ङेम्लिङ लामाले ०७७ असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

रेडियो तोडफोड गरी फरार भएका आरोपित लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाका आधारमा गिरफ्तार गरिएको र आरोपित विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले इन्सेक प्रतिनिधिको भेटमा बताउनु भयो ।


नातिबावु धिताल