एचआइभी एड्स सङ्क्रमण हुन नदिन इन्सेक बाराको पहल

  ०७६ फागुन ३० गते

प्रारम्भिक परीक्षण गर्दा एचआइभी एड्सको नयाँ सङ्क्रमण भएका तेस्रोलिङ्गीहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधिको पहल र जिल्ला प्रहरी कार्यालयको सहयोगमा डिटरमाइण्ड परीक्षण गराइनुका साथै  मनोपरामर्श दिइने भएको छ ।

photo20200313bara

जितपुर सिमरा उमनपा–१९ इनर्वासिराका ४८ वर्षीय र ५१ वर्षीय तेस्रोलिङ्गी ०७६ पुस १८ गते एचआइभी एड्सको प्रारम्भिक परीक्षण गर्दा नयाँ सङ्क्रमण भएको नील हिरा समाजकी संयोजक पूर्णीमा श्रेष्ठले बताउनु भयो । उहाँले डिटरमाइण्ड परीक्षण भएपछि कन्फर्मेसन परीक्षण गर्न सङ्क्रमितले अस्वीकार गरेको बताउनु भयो ।

०७६ फागुन २६ गते इन्सेकका बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई पत्र पठाएर घटनाको बारे जानकारी गराउँदै परीक्षणको लागि पहल गरिदिनुहुन अनुरोध गरेको संयोजक श्रेष्ठले बताउनु भयो । उहाँले दुई महिनादेखि प्रयास गर्दा समस्या समाधान गर्न नसकेकाले इन्सेकको सहयोग लिएर समाधान गर्न पत्र पठाएको बताउनु भएको छ ।

०७६ फागुन २६ गते जितपुर सिमरा उमनपा–१९ का वडा अध्यक्ष सुधन दास तत्मासँग इन्सेक बारा जिल्ला प्रतिनिधिको त्यस वडामा दुई जना एचआइभी एड्स सङ्क्रमित भएको शङ्का रहेको र उहाँहरूले दैनिक चार–पाँचजना सँग नियमित यौन सम्पर्क गर्ने गरेको जानकारी आएकाले समस्या समाधान गर्न वडा कार्यालयको भुमिकाको विषयमा छलफल भएको छ ।

वडा अध्यक्ष सुधन दास तत्माले अटेर गरेकाहरूकोे कन्फर्मेसन परीक्षण गरी उपचार गर्न र समाजमा रोग फैलिएर महामारी हुन नदिन फागुन २७ गते इन्सेक बारा जिल्ला प्रतिनिधि पौडेललाई पहल गरिदिनु हुन आग्रह गर्नु भयो ।

जनस्वास्थ्य कार्यालय एचआइभी एसड्स शाखाका डा. कमलेश यादवले सङ्क्रमितहरूसँग मनोविमर्श गर्दा रोग लागेको छैन भनि जिद्धि गरेको बताउनु भयो । समाजमा यौनकर्मीकोरूपमा काम गरेकाले रोग सर्ने र स्वास्थ्य नागरिकलाई रोग लाग्ने सम्भावना रहेको डा. यादवले बताउनु भयो । एचआइभी एड्स सङ्क्रमितले रोग लागेको छैन भनि रोगको उपचार नगरी लुकाउन खोजेको र यौनकर्मीको कार्य गर्दा सावधानी नअपनाएकाले स्वास्थ्य नागरिकलाई रोगी बनाइरहेको कार्य निन्दनीय भएको बताउनु हुँदै डा. यादवले रोगीलाई दोस लगाउन भन्दा अस्पताल पु¥याई सहयोग गरिदिन आग्रह गर्नु भयो ।

इन्सेक बारा जिल्ला प्रतिनिधि पौडेल र नील हिरा समाजका संयोजक श्रेष्ठले घटनाका विषयमा ०७६ फागुन २६ गते प्रमुख जिल्ला अधिकारी फणीन्द्रमनी पोखरेल र जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पङ्गेनीलाई जानकारी गराउनु भएको छ ।

सङ्क्रमितहरूको जीवन रक्षा र नागरिकको स्वास्थ्य अधिकारको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । उहाँले सङ्क्रमितहरूको परीक्षण गरी उपचार गर्ने र रोग सर्न नदिने वातावरण बनाउन सबैको सहयोग चाहिने बताउनु भयो ।

०७६ फागुन २६ गते जितपुर सिमरा उमनपा–१९ इनरवासिरामा रहेका तेस्रोलिङ्गीसँग भेट गरी एचआइभी सङ्क्रमित भएको आशङ्का रहेकाले शङ्का हटाउन कन्फर्मेसन परीक्षण गर्न पर्छ र एसचआइभी देखिएमा नियमीत औषधी सेवा लिन इन्सेक बारा जिल्ला प्रतिनिधि पौडेलले अनुरोध गर्नु भएको तर परीक्षण गर्न अश्वीकार गरेको बताउनु भएको छ ।

इन्सेक बारा जिल्ला प्रतिनिधि पौडेलले वडा अध्यक्ष तत्मासँग एचआइभी एड्स सङ्क्रमितका विषयमा सम्झाउँदा नमानेकाले जिल्ला प्रहरीको सहयोग लिन पर्ने छलफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी पङ्गेनीसँग छलफल गरि समय मिलाएर उनीहरूलाई गिरफ्तार गरेरै कलैया अस्पतालमा लगेर  परीक्षण गर्ने र काउन्सिलिङ्ग गर्ने सहमती भएको छ ।

नेपाल प्रहरीको सहयोगमा नील हीरा समाज र इन्सेक प्रतिनिधि मिलेर विरामीलाई कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराउने र उपचार गरी विरामीको जीवन रक्षा र एक महिनामा ४० जना विरामी हुनबाट बचाउने अभियान सुरू भएको नील हीरा समाजका संयोजक श्रेष्ठले बताउनु भएको छ ।


भोलानाथ पौडेल