एक हप्तादेखि विद्यालयमा ताला, पठनपाठन प्रभावित

  ०७५ वैशाख ६ गते

खार्पुनाथ गाउँपालिका-५ स्थित मान्धारा माविमा ०७४ चैत ३० गतेबाट अभिभावकद्वारा ताला लगाएपछि पठानपाठन प्रभावित भएको छ ।

विद्यालय ब्यवस्थापन समितिले विद्यालयमा पठनपाठन गर्न समस्या खडा गरेको, अहिलेसम्म अङ्ग्रेजी र गणित विषयको शिक्षक नियुक्तीमा आलटाल गरेको, हालसम्म बैठक समेत नबसेर पठनपाठन जस्तो कार्यमा सहयोग नगरेको आरोप लगाएर अभिभावकहरूले विद्यालयमा ताला लगाएका हुन् ।

पठनपाठनमा विद्यालय ब्यवस्थापन समितिले छलफलका लागि बैठकसमेत नबोलाएको भन्दै अभिभावकले तालाबन्दी गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष अर्जुनबहादुर शाहीले बताए ।

उनले भने-'विद्यालयको विविध विषयमा छलफल गर्न पत्र समेत काट्न नदिएकाले विद्यालय बन्द गरिएको हो ।'

विद्यालय चलेको समयमा नै अभिभावक आएर तालाबन्दी गरेको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए । शाहीले भने-'मैले गर्ने भनेको विव्यसले निर्णय गरे अनुसारको काम हो । जो कोही अभिभावकले जे भन्यो, त्यो गर्ने काम मेरो हैन । तर, गणित र अङ्ग्रेजी विषय पढाउने शिक्षक छैनन् । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । यसका लागि सबै ठाउँमा पहल गरेको छु ।'

विद्यालय खोल्नका लागि प्रहरी समेतले पनि अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका निमित्ति कार्यालय प्रमुख विष्णुबहादुर शाहीका अनुसार आफूले पनि ताला खोल्न अनुरोध समेत गरेको बताउँदै भने-'मेरो अनुरोधलाई अभिभावकले मानेका छैनन् ।'


नन्द सिंह