एक सातादेखि अस्पताल बन्द हुँदा बिरामी सेवाग्राही मर्कामा

  ०७५ चैत २८ गते

डाक्टरहरूको आन्दोलनका कारण चैत २१ गतेदेखि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा बन्द हुँदा उपचारका लागि आउने कास्की, तनहुँ, स्याङ्जालगायत जिल्लाका निम्न वर्गका बिरामी अलपत्र परेका छन् ।

अस्पतालमा स्वास्थ्य बिमा गराएका बिरामी बढीजसो उपचारका लागि जाने गर्छन् । स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पठाउने गरिएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

अस्पतालको ओपिडी सेवा लिन दैनिक १ हजार ५ सयको हाराहारीमा बिरामीहरू आउने गरेको डाक्टर आचार्यले बताए ।

डाक्टरहरूको आन्दोलन कै कारण चैत २६ गते देखि प्रतिष्ठानकोे पोस्टमार्टम कक्ष पनि बन्द गरिएको छ ।

केन्द्रको आन्दोलन कार्यक्रम अनुसार नै पोस्टमार्टम शाखा बन्द गरिएको डाक्टर भरत खत्रीले जानकारी दिए ।

सरकारले समायोजन गर्दा चिकित्सकहरूलाई संघ अन्र्तगत राख्नुपर्ने माग गर्दे देशभरका सरकारी चिकित्सकले सेवा अवरूद्ध गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय जना डाक्टरसहित नर्स र कर्मचारी गरी ५ सय जना कार्यरत रहेको डाक्टर खत्रीले जानकारी दिए ।


सुशन घिमिरे