एक समूहको कुटपिटबाट शिक्षकको मृत्यु

  ०७६ असार १२ गते

तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नपा–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको असार ११ गते एक समूहको कुटपिटबाट मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतकका बुवा उपेन्द्र यादवले असार ११ गते अपरान्ह हत्यामा संलग्न भएको आरोपमा नौ जनाविरुद्ध उजुरी दिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले आरोपितहरू फरार हुन सक्ने भएकाले आरोपितहरूको नाम गोप्य राखिएको बताए । शवको पोष्टमार्टम विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा असार ११ गते भएको छ ।

पिस जोन मोडेल स्कुलको होस्टल बार्डेनका रूपमा समेत कार्यरत बिराजीलाई असार ९ गते राति उक्त समूहले गरेको कुटपिटबाट असार ११ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले बताए ।

साथी भेट्न असार ९ गते राति होस्टलबाट निस्किएका उनको राजविराज नपा–७ खर्साल टोल पुगेका बेला स्थानीय युवाहरूको समूहले कुटपिट गरेको एक स्थानीयवासीले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा प्रहरीले राजविराज नपा–६ खर्साल टोलस्थित हरीनारायण शर्माको घर अगाडि सडकबाट उद्दार गरी बिराजीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको थियो ।

राजविराजमा उपचार हुन नसकेपछि असार ११ गते बिहान नोबेल अस्पताल विराटनगर पुर्‍याइएका उनको मृत्यु भएको मृतकका बुवा उपेन्द्र यादवले जानकारी दिए ।

आरोपितहरू फरार रहेको जानकारी दिँदै एसपी यादवले हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।


मनोहरकुमार पोखरेल