एक वर्षदेखि छाप्रो र खुल्ला आकाशमुनि पढाई

  ०७६ फागुन १४ गते

भूकम्पले क्षति भएको भवनको पुनःनिर्माणको काम नसकिदा मन्थली नगरपालिका–९ पुराना गाउँको स्थानापति माविमा एक वर्षदेखि जस्ताको छाप्रो र खुल्ला आकाश मुनि पठन पाठन भइरहेको छ ।

भुकम्पले क्षति भएको भवनको गत सालबाट निर्माण कार्य सुरु भएको र हालसम्म सो काम नसकिएको कारण विद्यार्थीहरुलाई बाहिरै राखेर पढाउनु परेको विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले बताउनु भयो । २ सय ५० जना विद्यार्थी रहेको यो विद्यालयमा शिशुदेखि १० कक्षासम्म पठनपाठन हुने गरको छ । विद्यालयका पुराना भवन भत्काइएका र नयाँ भवन नबनेको कारण गुम्बाको जग्गामा जस्ताका टहरा बनाएर पढाइएको उहाँले बताउनु भयो । वर्षाको बेलामा पानी चुहिने र जस्ताको आवाजले सुन्न कठिन भएको कारण गतसाल वर्षायामको पढाई प्रभावित भएको उहाँको भनाई छ ।

Photo20200226 Ramechhap Photo20200226Ramechhap1

स्थान अभावको कारण केही कक्षा बाहिरै राखेर सञ्चालन गरिएको विद्यालयका शिक्षक प्रकाश आरणले बताउनु भयो । पानी पर्ला जस्तो हुने वित्तिकै विद्यार्थीहरुलाई छुट्टी दिनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार विद्यालय भवनको काम पुरा नहुँदा सबैभन्दा बढी प्रभाव एसइईको तयारीमा रहेका कक्षा ९ र १० का विद्यार्थीलाई परेको छ । गतसालको एसईईको ब्याजको पढाईमा धेरै नै प्रभाव पर्‍यो, यस वर्षको एसईईको ब्याजलाई पनि सोही प्रभाव पार्ने देखियो’, शिक्षक आरणले चिन्ता व्यक्त गर्नुभयो ।


नवराज पथिक