एक महिनादेखि सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको अभाव

  ०७६ माघ १५ गते

पटक पटक परेको भारी हिमपातका कारण नाग्म–गमगढी सडक एक महिनादेखि अवरुद्व हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ ।

मङ्सिर २८ र पुस १७ गते परेको भारी हिमपातका कारण परेको बाक्लो हिमपातले सदरमुकाम गमगढी जोड्ने नाग्म–गमगढी सडक खण्ड अन्तर्गत जुम्ला र मुगुको सिमानमा पर्ने घुच्चीलेखमा हिमपातले सडक अवरुद्व हुँदा सर्वसाधरणले सास्ती भोग्नु परेको हो ।

जिल्लाका स्थानीय बजार रातापानी, माझचौर, राउतडी, सेरी, पाँचे र सदरमुकामस्थित गमगढी बजारमा चामल, तेल, मसला, नुन र पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य तथा निमार्ण सामाग्रीको अभाव भएको व्यापारी लोकप्रसाद दाहलले बताउनु भयो ।

हिमपातले नाग्म–गमगढी सडक खण्ड अन्तर्गत जुम्लाको भुलबुले र मुगुको घुच्ची, सातमोड–झाड नाउलामा चार फिटसम्म हिउँ जमेको छ ।

नाग्म–गमगढी सडक खण्डमा सडक डिभिजन कार्यालय जुम्लाले समयमै हिउ नफाल्दा सर्वसाधरणले सास्ती भोग्नु परेको उद्योग वाणिज्य सङ्घ मुगुका महासचिव नृपेन्द्रबहादुर मल्लले गुनासो गर्नु भयो ।

पहिलो पटक मङ्सिर २८ गते परेको हिमपातले नाग्म—गमगढी सडक अवरुद्ध भएको हो, अवरुद्ध सडकमा जमेको हिउ एक हप्तापछि डोजर लगाई खुलाइएको भएपनि पुनः पुस १७ गते परेको हिउँले सडक बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।

एक महिनादेखि हिमपातले बन्द रहेको सडक खुलाउने कार्यमा सडक डिभिजन लागि रहेको उहाँले बताउँनु भयो । पाँच दिनदेखि हिउँ पन्छाउन डोजर प्रयोग गरेका छौँ, बाक्लो हिमपातले जमिन नछोडेपछि हिउँ पन्छाउन समस्या भएको र मौसममा सुधार आएमा डोजर लगाएर हिउँ पन्छाउने कार्य अघि बढाउने र यसै हप्ता भित्र सञ्चालनमा आउने प्रमुख भण्डारीले प्रतिवद्वता जनाउनु भयो ।

नाग्म–गमगढी सडक खण्डमा हिउँदमा हिमपातले र वर्षामा पानीले अवरुद्व हुने गरेको छ । ०६९ पुस १ गते मुगु सडक सञ्जालमा जोडिएको भएपनि हालसम्म सडकको स्तर उन्नती नहुँदा यो सडक खण्ड वर्षको चार महिनामात्र सवारी साधन चल्ने गरेका छन् ।

सडक खुलेको लामो समय भई सक्दापनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, पानीका नाला, ढल, कल्भड, व्यवस्थित नहुँदा हिउँदमा हिउले र वर्षामा पानीले सडक बन्द हुने गरेको मुगुका व्यापारी गुनासो गर्छन ।
वर्षको आठ महिनासम्म सडक बन्द हुँदा व्यापारीलाई व्यवसाय गर्न समस्या हुने गरेको छ । उपभोक्ताले खोजेको सामान बजारमा पाइदैन ।

सडक बन्द हुँदा स्थानीय तहका विकास निमार्णका काम पनि प्रभावित भएका छन् । स्थानीय तहका पुल, पुलेसा बिजुलीका सामान ढुवानीमा समस्या भएको र काम पनि अधुरै रहेको खात्याड गाउँपालिका–२ का वडा अध्यक्ष लालबहादुर रावल बताउँछन ।

त्यस्तै मुगु जिल्लाको खत्याड गाँउपालिका जोडने गोठी जिउला–कालाकाँडा–गम्था सडक खण्ड पनि अबरुद्ध छ ।

Mugu


जीवन सेजुवाल