एक महिनादेखि शिक्षक विद्यालय नजाँदा पठनपाठन प्रभावित

  ०७४ कात्तिक २९ गते

चङ्खेली, अदानचुली, ताँजाकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक एक महिनादेखि सम्बन्धित विद्यालयमा नजाँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

चङ्खेली गाउँपालिका-८, अदानचुली गाउँपालिका-५, ताँजाकोट गाउँपालिका-४, नाम्खा गाउँपालिका-९, सर्केगाड गाउँपालिका-३ का ३० वटा विद्यालयमा कार्यरत करिब ७० जना शिक्षक उपस्थित नभएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।

जिल्ला बाहिर र जिल्ला भित्रका शिक्षक दसैँतिहार बिदामा घर गएकामा समयमा विद्यालयमा नफर्केपछि बालबालिकाको पठनपाठन प्रभावित भएको चङ्खेली गाउँपालिकास्थित बालज्योती प्राविका, शिक्षक अभिभावक सङ्घका सदस्य शेरबहादुर शाहीले बताए ।

सदस्य शाहीका अनुसार सो विद्यालयमा पाँच जना शिक्षकको दरबन्दी भएता पनि कात्तिक २८ गतेसम्म विद्यालयमा शिक्षकहरू उपस्थित भएका छैनन् ।

बालज्योती प्राथमिक विद्यालयमा २ सय जना विद्यार्थी रहेका छन् । विद्यालयका प्रद्यानाध्यापक रीताकुमारी शाही बाहेक अरू शिक्षक विद्यालयमा पुगेका छैनन् ।

त्यस्तै अन्य विद्यालयमा पनि शिक्षकहरू उपस्थित नभएको जिल्ला शिक्षा कार्यालयका निमित्त कार्यालय प्रमुख वर्षफडेराले बताए ।

विद्यालयमा वार्षिक परीक्षा नजिकै आइरहेको समयमा अहिलेसम्म विद्यालयमा रहेका कक्षा १ देखि ५ सम्मका विर्द्यर्थीको विषयगत पढाई नभएको नाम्खा गाउँपालिकास्थित खासरपानी प्रावि कक्षा चारमा अध्यनरत तञ्जेन लामाले गुनासो गरे ।

जिल्ला शिक्षा कार्यालयका निमित्त कार्यालय प्रमुख फडेराले हुम्लाका विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयमा जान आग्रह गरेपनि उल्टै राजनीतिक दलका नेताबाट 'पावर' लगाएर धम्काउने गरेको आरोप लगाए । कतिपय विद्यालयमा वार्षिक परीक्षा सञ्चालन नगरी हिउँद महिनाको बिदा गरेको निमित्त प्रमुख फडेराले बताए ।


नन्द सिंह