एक महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव सेवाग्राही मर्कामा

  ०७५ साउन १ गते

चौरजहारी नपा–७ कोटजहारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा सिटामोल बाहेकका औषधिको अभाव भएको हेल्थ असिस्टेन्ट रामबहादुर सुनारले जानकारी दिए ।

औषधि अभाव भएपछि उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूले अन्य औषधि लिनुपर्ने भएमा मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य केन्द्रमा औषधिका साथै चिकित्सकको दरबन्दी समेत रिक्त रहेका कारण सेवाग्राहीको चाप घटेको सुनारले बताए । स्वास्थ्य केन्द्रमा अक्सिजन, सादा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसीलगायतका अन्य सेवा नहुँदा बिरामी मर्कामा परेका हुन् ।

नजिकैको स्वास्थ्य केन्द्रमा सबै किसिमको उपचार तथा औषधि नपाइने भएकाले प्रायः बिरामी उपचारका लागि जाजरकोट र चौरजहारी जानुपर्ने बाध्यता रहेको छ । यस प्राथमिक स्वास्थ्य केन्द्रमा चौरजहारी नपास्थित वडा नम्बर ६, ७, ८ र ९ का बिरामी उपचार गर्न आउने गर्दछन् । तर, स्वास्थ्य केन्द्रमा निःशुल्क रूपमा पाइने औषधि नभएकाले अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीय गोरख घर्तीले बताए ।

स्वास्थ्य केन्द्रमा सादा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसीलगायतका सेवा नहुँदा जटिल प्रकृतिका बिरामीलाई रेफर गर्दै आइरहेको हेल्थ असिस्टेन्ट सुनारको भनाई छ ।

निमित्तको भरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि दरबन्दी अनुसार कर्मचारीको पनि पदपूर्ति हुन सकेको छैन । उक्त समस्या समाधानका लागि आफूहरूले जिल्ला स्वास्थ्य कार्यालय र चौरजहारी नगरपालिकासँग अनुरोध गरेको र समाधानको पहल भइरहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष इन्द्रलाल शर्माले बताए ।


मनिषा केसी