एक महिनादेखि जापानीज इन्सेफलाईटिस खोप अभाव भएपछि सेवाग्राही मर्कामा

  ०७४ जेठ २९ गते

बाग्लुङमा जापानीज इन्सेफलाईटिस(जेइ) खोपको अभाव भएको छ । बालबालिकालाई लगाइँदै आएको जेइ खोप एक महिनादेखि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

पुरानो भण्डारण सकिएपछि अहिले बाग्लुङका सबैजसो अस्पतालमा जेइ खोपको अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका विरेन्द्र चौधरीले जानकारी दिए । चीनबाट ल्याउने प्रकृयामा ढिलाई भएका कारण नयाँ खोप आउन समय लागेको वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीले बताए ।

क्षेत्रीय स्वास्थ्य कार्यालय पोखराबाट खोप ल्याउने गरिएको भएपनि पोखरामै खोप अभाव भएपछि बाग्लुङमा खोप ल्याउन नसकेको सम्बन्धित निकायको भनाइ छ । खोप आउनका लागि अझै दुई हप्ता लाग्ने कार्यालयले जनाएको छ ।

विगत ६ महिनादेखि खोप ल्याउने प्रयास गरेपनि आवश्यक प्रक्रिया झन्झटिलो भएका कारण ढिला हुन गएको वरिष्ठ जनस्वास्थ प्रशासक तिवारीले बताए । जापानीज इन्सेफलाईटिस विरूद्ध १२ महिनादेखि २३ महिना भित्रका बालबालिकालाई दिइँदै आइएको यो खोप जुनसुकै बेला लगाउन सकिने बताइएको छ ।

एक भाइलमा ५ डोज हुने र खोलेपछि ब्रि्रने भएकाले पनि वार्षिक १० लाख भाइल डोज ल्याउने गरिएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण मध्य पहाडी र पहाडी क्षेत्रमा समेत जापानीज इन्सेफलाइटिसको प्रकोप देखिन थालेकाले सरकारले बाग्लुङमा ०७३ वैशाख १९ गतेबाट यस रोग विरूद्धको खोप लगाउन सुरू गरेको थियो ।


सिर्जना पन्त