‘एक तोला सुनमा मिलाएको’ बलात्कार घटनाका पीडित न्यायको खोजीमा

  ०७७ मङ्सिर ११ गते

१८ वर्षीया युवतीलाई ०७७ जेठ २३ गते बेलुका पानी भर्न गएको समयमा सिगास गाउँपालिका–२ का २२ वर्षीया युवक दिपक धामीले बलात्कार गरेको घटना एक तोला सुनमा मिलापत्र गराएको रहस्य खुलेको छ ।

अहिले मिलापत्र गरिएको कागजमा उललेख गरिएको सुन नदिएर पीडितका दाइलाई कुटपिट गरेपछि उक्त घटना र मिलापत्र भएको कुरा सार्वजनिक भएको हो ।

पीडित युवतीका आफन्त र गाउँले मिलेर उक्त घटना ०७७ असार १४ गते आरोपितले एक तोला सुन दिने शर्तमा कागज गरी मिलापत्र गरिएको पीडित युवतीले बताइन् । मिलापत्र गरिएको कागजमा पीडित र आरोपितबिच झै झगडा भएको उल्लेख गरिएको छ ।

परिवार र गाउँलेहरूको दबाबमा मिलापत्र भएको भन्दै उक्त घटनाकी पीडित युवती अहिले न्यायको खोजीमा सदरमुकाम आइपुगेकी छन् ।

डरत्रास देखाएर घटना मिलापत्र गराएपछि आरोपित भने भारत गएको पनि पीडित पक्षले आरोप लगाएको छ ।

दाजुले घटना मिलापत्र गराएको पीडितकी दिदीलाई थाहा थिएन तर अहिले पीडितकी दिदीले उक्त कुरा थाहा पाएपछि बहिनीको न्यायका लागि बहिनीसँगै दिदी पनि सदरमुकाम आइपुगेकी छिन् ।

‘जेठ २३ गते दुई घण्टा हिँडेर पानी भर्न जाँदा ज्यान मार्ने धम्की दिएर बलात्कार गर्‍यो । उक्त घटनालाई गाँउमै मिलाएर बलात्कार गर्नेलाई गाउँलेले नै जोगाउन खोजे ।’–पीडितले भनिन् ।

पीडित युवती र उनका आफन्तहरू न्यायको खोजीका लागि सदरमुकाम आइपुगे लगत्तै मङ्सिर १० गते साँझ इन्सेक प्रतिनिधिसँग भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण अधिकारीसँग उक्त घटनाको न्यायका लागि छलफलसमेत गरेका छन् ।

छलफलका क्रममा डिएसपी नारायण अधिकारीले पीडित युवतीलाई छिटै जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरेका छन् । पीडित युवती जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा छन् ।


नरी बडु