एकीकृत बस्तीले पूर्णता नपाउँदा टहरो र भत्किएकै घरमा बस्न बाध्य

  ०७६ माघ २७ गते

भिमसेन थापा गाउँपालिका–५ वगुवा स्थित लामाचौरमा बनेको एकीकृत बस्तीको काम आर्थिक अभावले सुस्ताएको छ । वगुवा स्थित रिठ्ठेपानी, धरमपानी, नया“गाउँ र पाण्डेगाउ“का भूकम्प पीडितका लागी लामाचौरमा २०७३ साल यता बस्ती निर्माणाधीन छ ।

२०७७ असार मसान्त सम्म पूर्णता दिने भनिएको बस्ती आर्थिक अभावका कारण सोचेजस्तो काम हुन नसकेको एक स्थानीयले बताउनुभयो ।
बस्तीले पुर्णता नपाउँदा भूकम्प पीडित भने अस्थायी टहरो र भत्किएकै घरमा दिन रात कटाउँन बाध्य छन् ।

चार वर्ष देखि टहरोको बसाइ निकै कष्टकर बनेको रिठ्ठेपानीकी सरस्वती श्रेष्ठले बताउनुभयो । ‘टहरोको बसाइ सारै सकसको छ, जाडो लाग्यो सित चुहिएर बस्न सकिन्न, गर्मी लाग्यो भने जस्ता तातेर गाह्रो हुने ,’–उहाँले भन्नुभयो ।

२०७२ वैशाख १२ को भूकम्पले यी चार गाउँका १३८ घर धुरीमा क्षति पुगेको थियो । भूकम्पपछि गाउँमाथिको च्यान डाडाँमा चिरा परेको छ भने बस्ती मुनिको कोइराले भन्ने ठाउँमा जमिन भासिएको श्रेष्ठले बताउनुभयो ।

पुरानो बस्तीलाई भूकम्पले जोखिमपुर्ण बनाएपछि लामाचौरमा दुई सय रोपनी जग्गा खरिद गरेर सामूहिक बस्ती निर्माण सुरु भएको थियो । हाल १३८ मध्ये ७२ घरमा पहिलो तलाको ढोका हालिसकिएको छ भने ३६ घरको जग हालिएका छन् । ३० ओटा घरको मात्र छाना छाउने काम सकिएको छ ।

२०७३ सालमा भूकम्प पीडितहरुको भेलाले एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समिति गठन गरेर बस्ती पुनर्निर्माण थालेका थिए । सबै घर धुरीले तीन लाख सरकारी अनुदानलाई सोहि बस्तीको घर निर्माणमा खर्चेका छन् ।

सरकारी अनुदान बाहेक आवश्यक पर्ने थप रकम सबैले जुटाउन नसक्दा यतिबेला बस्ती निर्माणका काम सुस्त गतिमा चलेको छ । एकीकृत बस्तीमा बन्ने एक घर बराबर दश लाख खर्च लाग्ने स्थानीय बताउँछन् ।

‘खेती किसानी गर्ने परिवारलाई १० लाख जुटाउन सकस पर्दो रहेछ । ,’–भूकम्प पीडित खड्क वहादुर श्रेष्ठले भन्नुभयो,‘अनुदानको तीन लाख त त्यो घर बनाउन खर्च भइसक्यो, त्यो बाहेकको रकम जुटाउन सकेनौ ।’ यहाँका धेरै जस्तो भूकम्प पीडित भूकम्पले भत्काएको घरको माथिल्लो तल्ला फालेर तल्लो तल्लामा जेनतेन जस्ता बेरेर बसेका छन् ।

लामाचौर बस्ती निर्माणको ३५ प्रतिशत काम मात्र सकिएको भिमसेन थापा गाउँपालिका–५ वगुवाका वडा अध्यक्ष प्रेम चन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले २०७७ असारसम्म बस्ती निर्माण सक्ने लक्ष्य सम्भव नदेखिएकोे बताउनुभयो ।

एकीकृत बस्तीको निर्माण सक्न सात करोड रकम आवश्यक देखिएको र आर्थिक अभावले निर्माण सामाग्री पर्याप्त ढुवानी गर्न नसकिएको उहाँले बताउनुभयो ।

उक्त रकम संकलनका लागी सम्भव भएसम्म घर धनी र नभए दातृ निकायलाई अनुरोध गरेर बस्ती निर्माणलाई पूर्णता दिइने तर बस्ती पुनर्निर्माण कहिले सम्म सकिन्छ यसै भन्न नसकिने उहाँले भन्नुभयो ।

 


हरिराम उप्रेती