एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोकः आयोग

  ०७७ जेठ १० गते

नेपाल सरकारबाट ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएकोमा राष्ट्रिय मानव आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले जेठ १० गते विज्ञप्ति प्रकाशन गरि विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ बाट नेपालसमेत प्रभावित भएको अवस्थामा सरकारको सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रमले उक्त समुदायमा आर्थिक र सामाजिक रूपमा सकारात्मक प्रभाव पर्ने जनाएको छ ।
सामाजिक सुरक्षा भत्ताले उनीहरूमाथि हुने विभेदजन्य व्यवहार तथा हिंसामा केही कमी हुने देखिएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
हालको विषम परिस्थितिमा सरकारबाट राहतलगायत सामाजिक सुरक्षाका थप कार्यक्रमहरू घोषणा भई कार्यान्वयन हुनुपर्नेमा विगतमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने अवस्था आए उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने जीवनको अधिकारमा बाधा उत्पन्न हुने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी विज्ञप्तिमा एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई विमुख गराउँदा नेपालको संविधानको धारा ४३ मा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक समेतको प्रतिकूल हुन जाने उल्लेख गरेको छ । लकडाउनको कारण अपाङ्गता भएका व्यक्तिहरूलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको विज्ञप्तिमा जनाइएको छ ।
दृष्टिविहीन तथा सुस्त श्रवण भएका व्यक्तिहरूलाई राहत तथा सूचना प्राप्त गर्न र बैंकिंङ सेवा प्राप्त गर्न कठिनाई भएकोले आधारभूत मानव अधिकारको उपभोग गर्न समेतबाट बञ्चित हुन गएको आयोगले उल्लेख गरेको छ ।


दीपकप्रसाद घिमिरे