एउटै वडाका ८५ प्रतिशत बासिन्दा लालपूर्जाविहीन

  ०७६ कात्तिक २२ गते

कमलामाई नगरपालिकाका एकै वडाका ८५ प्रतिशत जनसङ्ख्या ४८ वर्षदेखि लालपूर्जा विहीन छन् । कमलामाई नगरपालिका–९ को भिमान बजार र आसपासका १२ ओटा बस्ती २०२८ सालदेखि लालपूर्जा विहीन अवस्थामा बस्दै आएको छ । ती बस्तीका १ हजार ३३ परिवारले ४८ वर्षसम्म पनि लालपूर्जा पाएका छैनन ।

जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र भीमान बजारको करिब ८५ प्रतिशत जग्गाको लालपूर्जा छैन । विपी राजमार्ग र मदनभण्डारी राजमार्गसँग जोडिएको उक्त क्षेत्रका भिमान बजार, पन्नेसी, सुकेखोला, बथानचौडी, कोरूङखोलालगायतका बस्तीमा बसोबास गर्नेहरूको घर छ तर लालपूर्जा छैन । उनीहरू ऐलानी जग्गामा बसोबास गर्दै  आएका छन् ।

उक्त वडाका वडाध्यक्ष देवराज पौडेलका अनुसार २४ दशमलव २२ वर्गकिलोमिटर क्षेत्रफल भएको वडामा करिब १३ सय घरधुरी छन् ।

उक्त वडामा ४ हजार ९ सय ३४ जनसङ्ख्या छ । त्यसमध्ये ८५ प्रतिशत ऐलानी जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका छन् ।

भीमान बजारमा मात्र झण्डै ४ सयभन्दा बढी ठूला पक्की घर निर्माण भइसकेका छन् । करोडौँ रुपैयाँको लागतमा बनाएका आवास स्थानीयले आफ्नो भन्न नपाएको उनले बताए ।

कम्युनिष्ट आन्दोलनलाई सहयोग गरेको भनी २०२८ सालको नापीमा तत्कालिन सरकारले छुटाएपछि यस क्षेत्रका नागरिक लालपुर्जाविहीन बनेका हुन् ।

करिब १ हजार ३ सय घरधुरी रहेको वडाका १ हजार ३३ घरधुरीले आफू बसोबास गर्दै आएको घर जग्गा नापी गरिदिन वडा कार्यालयमा निवेदन दिएको वडा सचिव मुकेश तामाङले बताए ।


बिमला पाण्डे