एउटा गाउँपालिकाको काम एक जना वडा सचिवको भरमा

  ०७६ साउन ११ गते

भोटखोला गाउँपालिकाका पाँच ओडा वडाको कामका लागि एक जनामात्रै सचिव हुँदा स्थानीयले सास्ति व्यहोर्नु परेको छ ।

गाउँपालिका भित्रका पाँच ओटा वडा हेर्न वडा सचिवको रूपमा दावा लामा मात्रै छन् । एकजना मात्रै सचिव हुँदा सेवा प्रवाहमा समस्या आएको हो ।

सिङ्गो गाउँपालिकामा नै एक जना मात्रै वडा सचिव हुँदा सास्ती खेप्न बाध्य भएको स्थानीयहरू बताउँछन् । गाउँपालिकाको स्थापनाकालदेखि नै एक जना वडा सचिवको भरमा सिङ्गो गाउँपालिका चलिरहेको छ ।

वडा नं २ को कार्यालयमा जन्मदर्ता गराउन पुगेकी स्थानीय सुनाबुटी शेर्पाले वडा सचिव भेट्नकै लागि पाँच पटकसम्म वडा कार्यालय धाउनु परेको दुखेसो गरिन् ।

उनले भनिन्–‘मेरो घरबाट वडा कार्यालय आइपुग्न दुई दिन लाग्छ, पाँच पटकसम्म धाएर मात्रै बल्ल जन्मदर्ता गरियो । वडामा वडा सचिव भेट्नै मुस्किल पर्छ ।’

त्यस्तै गुनासो छ स्थानीय फुदोर्ची थुदोक भोटेको पनि । उनि विवाह दर्ता गराउनको लागि वडा नं ५ को कार्यालयमा पुग्दा तेस्रो पटकमा मात्रै वडा सचिव भेट्न पाएको बताइन् ।

उनले भनिन्–‘यो गाउँपालिकाको कमजोरी हो कि सरकारको कमजोरी हो ? एउटा सानो काम गर्नको लागि कर्मचारी भेट्न तीन पटकसम्म धाउनु पर्छ ।’

सबै वडामा काम गर्दा कहिलेकँहि कामको चापले सेवाग्राही मर्कामा पर्ने सचिव दाबा लामा स्वीकार्छन् । उनि भन्छन्–‘एउटा वडामा गयो अर्कोमा सेवाग्राही मर्कामा पर्छन् । अर्कोमा गयो अर्कोमा मर्का पर्छ । गाउँपालिका कार्यालयमा नै बसौँ भने झन् वडाबासीलाई कार्यालय आइपुग्न पाँच दिन लाग्छ । बरु धाएरै भए पनि वडा वडामा पुगेर सेवा दिन्छु ।’

जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा दरबन्दी अनुसारका कर्मचारी जान मान्दैनन् । यो गाउँपालिकामा कुल दरबन्दी २७ जनाको भए पनि पाँच जना करारका कर्मचारीबाट गाउँपालिकाको सम्पूर्ण कामकाजहरू सञ्चालन हुने गरेको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताए ।

भोटखोला गाउँपालिका दुर्गम भएको कारणले नै कर्मचारी आउन मान्दैनन् । मन्त्रालयले सरुवा गरेर पठाए पनि बाध्यतामा एक/दुई महिना बस्ने अनि तत्काल सरुवा मिलाउने सरुवा नभएको खण्डमा काज मिलाएर प्रदेश, सङ्घ र सुगमका स्थानीय तहमा जाने गरेको गाउँपालिकाका अध्यक्ष भोटेले बताए ।

उनले भने–‘दुर्गम भएकै कारणले कर्मचारी नबस्ने भएपछि कर्मचारीलाई गाउँपालिकाले थप ४ हजार रुपियाँ दुर्गम भत्ता दिने निर्णय गरेको छ । तर पनि कर्मचारी बस्न मान्दैनन् ।’

सडक सञ्जाल समेत नपुगेको भोटखोलाकाको पाँच ओटै वडामा हिँडेर पुग्नु पर्ने बाध्यता छ । भौगोलिक रूपमा विकट भएका कारण सबै वडा कार्यालयमा पुगेर सेवा दिन ज्यादै कठिन हुने गरेको वडा सचिव लामाले बताए ।

सचिव लामाले भने–‘पैदल हिँडेर हरेक वडामा तीन/चार दिनमा एकपटक सेवा दिन पुग्छु । गाउँपालिका भित्रका एक वडाबाट अर्को वडा पुग्न नै दुई दिन हिँड्नु पर्छ । दैनिक सबै वडामा पुग्न सकिँदैन ।’

भोटखोला गाउँपालिकाको थुदामबाट वडा नम्बर २ को वडा कार्यालय च्याम्ताङ आउन करिब तीन दिन लाग्छ । वडा कार्यालय पुगे पनि वडाले दैनिक रूपमा सेवा दिन नसक्दा सर्वसाधारणहरूले समेत हैरानी ब्यहोर्नु परेको छ ।

भोटखोला गाउँपालिकामा ६ हजार ५ सय ७६ जनसङ्ख्या रहेको छ । गाउँपालिकामा सडक, विद्युत् र सञ्चार समेत छैन । सडक, विद्युत् र सञ्चार सेवा समेत नहुँदा अझै समस्या हुने गरेको सचिव लामाको भनाई छ ।

दक्ष जनशक्ति र सञ्चार समेत नहुँदा सेवा प्रवाह समेत प्रभावकारी हुन नसकेको कर्मचारीहरू बताउँछन् । कर्मचारी अभावले गाउँ–गाउँमा सिंहदरबार पुर्‍याउन अझै कठिन भएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।


बाबुराम बास्तोला